Shittalpati
पाल्पामा ४२ जना नागरिकलाई क्वारेन्टाइनमा राखियो

पाल्पा, जिल्लाका विभिन्न स्थानमा विदेशबाट आएका ४२ जना क्वारेन्टाइनमा बसेका छन् । भारत लगायत तेस्रो मुलुकबाट आएका ४२ जना नागरिकहरु जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका हुन् । तानसेन नगरपालिका, रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिका र पूर्वखोला गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा ४२ जना नागरिकलाई राखिएको छ ।

तानसेन नगरपालिकाको ६ बर्तुङ्गको जनप्रिय माध्यमिक विद्यालयलमा सञ्चालन भएको ५० वेडमा ५ जना राखिएको छ । विहिबार विहानसम्म २६ जना राखिएकोमा पुर्वखोला गाउँपालिकाका २१ जनालाई पूर्वखोला नै पठाइएको छ । जहाँ बाग्लुङ्गका ४ जना र एक जना रिब्दीकोटका नागरिकलाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाले बताए । रामपुर नगरपालिकाले भारतबाट फर्किएका १२ जनालाई क्वारेन्टाइनमा राखेको छ । रामपुर ५ सानीअमराई स्थित बालकल्याण प्राथमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा ९ जना र रामपुर १ को छम्के आधारभूतमा ३ जनालाई राखिएको हो । भारतको मुम्बाईबाट धनगढी हुँदै बुधबार पाल्पा आईपुगेका ९ जनालाई बगनासकाली गाउँपालिकाले चिर्तुङ्गधारा स्थित क्वारेन्टाइनमा राखेको थियो । स्वास्थ्य परीक्षण पश्चात रामपुर नगरपलिकासँगको सहकार्यमा उनीहरुलाई रामपुर पठाइएको हो । त्यस्तै बुधबार बेलुका तानसेनको क्वारेन्टाइनमा बसेका २१ जना व्यक्तिहरुलाई पूर्वखोला गाउँपालिकाले सिलुवाको जनमार्ग माध्यमिक विद्यालयको क्वारेन्टाइन र ताहुँको क्वारेन्टाइनमा राखेको छ । २१ जना मध्ये २ जनामा सामन्य रुघाखोकी देखिएकाले ताहुँमा रहेको क्वारेन्टाइनमा डाक्टरको निगरानीमा राखिएको गाउँपालिकका स्वास्थ्य संयोजक मोहन ढकालले बताए । त्यस्तै रैनादेवी छहरा गाउँपालिकामा पनि भारतको हिसारबाट आएका ४ जनालाई ढुकुरखोला प्राविमा रहेको क्वारेन्टाइनमा राखिएको छ । संक्रमण फैलिएको स्थानबाट आएकाले उनीहरु स्वतस्फूर्त रुपमा क्वारेन्टाइनमा बसेका हुन् ।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update