Shittalpati
१० खर्ब ३५ अर्ब राजश्व संकलन

पाल्पा

कूल लक्ष्यको ८७.७ प्रतिशत राजश्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ । सरकारले करमार्फत नौ खर्ब ५७ अर्ब ४१ करोड ४४ लाख बराबरको राजश्व संकलन गरेको छ,भने गैरकर राजश्वतर्फ ७७ अर्ब १९ करोड सात लाख बराबर संकलन गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । वैदेशिक अनुदानतर्फ सरकारले १३ अर्ब ८८ करोड ३३ लाख राजश्व संकलन गरेको छ । चालु आव सकिन दुई दिन बाँकी छ । यसबीचमा कर तथा गैरकर राजश्व थप केही बढ्न सक्छ । सरकारले सबै स्रोतबाट प्राप्त गरेको रकमको मात्रा कूल लक्ष्यको ८८.४१ प्रतिशत बराबर रहेको कार्यालयको विवरणले जनाएको छ । कार्यालयका अनुसार सरकारले कूल लक्ष्यको ७८.२२ प्रतिशत बराबरको खर्च गरेको छ । चालु आवमा १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बराबर खर्च गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये हालसम्म १२ खर्ब ७७ अर्ब २० करोड बराबर खर्च गरेको छ । त्यसमा चालु खर्चको मात्रा बढी छ । चालु आवमा १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको बजेट चालु खर्चमा राखेको थियो । त्यसमध्ये नौ खर्ब ६१ अर्ब ४८ करोड २६ लाख बराबर खर्च भएको छ । यो कूल लक्ष्यको ९०.२६ प्रतिशत हो । यसैगरी विकास निर्माणका लागि विनियोजन गरिएको पूँजीगत खर्च पनि दुई खर्ब माथि पुगेको छ । सरकारले पूँजीगततर्फ तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बराबरको बजेट विनियोजन गरेको थियो । त्यसमध्ये हालसम्म दुई खर्ब छ अर्ब ३६ करोड ९७ लाख बराबर खर्च भएको छ ।

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update