Shittalpati
४० लाख पुगे करदाता

काठमाडौं, करको दायरामा आउने करदाताको संख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औँ प्रतिवेदनअनुसार आव २०७७/७८ सम्म ४० लाख ५९ हजार १ सय ७ करदाता पुगेका हुन् ।

प्रतिवेदनअनुसार आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क तीनवटै समूहका करदाताको संख्यामा वृद्धि भएको हो । त्यसमा व्यवसायिक स्थायी लेखा नम्बर १५ लाख ७७ हजार ३ सय ८३, व्यक्तिगत स्थायी लेखा नम्बर २४ लाख ७१ हजार ७ सय २६ र अग्रिम कर स्थायी लेखा नम्बर नौ हजार ९ सय ९८ जनाले लिएका छन् । आव २०७६/७७ को तुलनामा चालु आव २०७७/७८ आयकरतर्फ १८.९, मूल्य अभिवृद्धितर्फ ४.८७ र अन्तशुल्क इजाजत पत्रतर्फ ९.६८ प्रतिशतले स्थायी लेखा नम्बर लिने करदाताको संख्यामा वृद्धि भएको हो । यो वर्ष आयाकरतर्फ स्थायी लेखा नम्बर लिनेको संख्या छ लाख ४५ हजार ७ सय १७ ले बढेर ४० लाख ५९ हजार १ सय ७ पुगेको छ । यस्तै मूल्य अभिवृद्धितर्फ करमा दर्ता हुनेको संख्या दुई लाख ६८ हजार ४ सय ३६ पुगेको छ भने अन्तशुल्क इजाजतपत्र लिनेको संख्या एक लाख तीन हजार ४ सय २३ पुगेको छ ।

डाक्टर र इञ्जीनियरले नै तिर्दैनन् कर

महालेखाको प्रतिवेदनअनुसार चिकित्सक, इञ्जीनियर, वकिल, सल्लाहकार, लेखापरीक्षक, कलाकार, खेलाडी, शिक्षक प्राध्यापकलगायतका पेशाविद्, अधिकांशले स्थायी लेखा नम्बर नलिएका र लिएकाले समेत आय विवरण दाखिला नगरेको उल्लेख गरिएको छ । महालेखाले ५८ औँ प्रतिवेदनमा समेत पेशाविद्हरूले आफ्नो पेशागत प्रमाणपत्रलाई नवीकरण गर्दा कर चुक्ता वा कर विवरण पेश गरेको प्रमाणपत्र माग गर्ने व्यवस्था गर्नुपर्ने कुरा उठाएको थियो । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र करचुक्ता प्रमाणपत्र अनिवार्यरूपमा पेश गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ । महालेखाले सम्वद्ध निकायबीच अन्तरआवद्धतासहित उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ । –रासस

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update