Shittalpati
पाल्पाका सबै स्थानीय तहमा क्वारेन्टाइन

कृष्ण पोखरेल
पाल्पा, कोरोना भाइरसको संक्रमण बढिरहेकाले पाल्पामा पनि उच्च सतर्कता अपनाइएको छ । जिल्लाका स्थानीय तहहरुले कोरोना संक्रमणबाट जोगिन शंकास्पद विरामीहरुको व्यवस्था गर्ने गरी उच्च सतर्कता अपनाएका छन् । संक्रमणबाट बच्न जिल्ला बाहिर तथा अन्य देशबाट फर्किएका नागरिकलाई स्थापना गरिएका हेल्थ डेस्कमा जाँच गर्ने, सेल्फ क्यारेन्टाइनमा बस्न आग्रह गर्ने, माइकिङ गरेर सन्देश प्रवाह गर्ने लगायतका कार्य भइरहेको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् । बाहिरबाट आएका शंकास्पद व्यक्तिहरुलाई कोरोना परीक्षणको सयमसम्म क्वारेन्टाइनमा राख्न जिल्लाका १० वटै स्थानीयतहले विभिन्न विद्यालय तथा स्वास्थ्य चौकीमा २ सय ६५ वेडको क्वारेन्टाइन सेवाको व्यवस्था समेत मिलाएका छन् ।

उनीहरुले कोरोनाको संक्रमण नफैलियोस् भन्ने उद्देश्यले संक्रमणको सुनिश्चित हुने अवधिभर (१४ दिन) छुट्टै राख्नका लागि क्वारेन्टाइन सञ्चालनमा ल्याएका हुन् । तानसेन नगरपालिकाले वडा ६ बर्तुङ्गमा ५० वेडको क्वारेन्टाइन सेवा शुरु गरेको छ । जिल्ला अस्पताल पाल्पा, युनाटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजको चिकित्सकिय सहयोग, सुरक्षा निकायको निगरानी तथा तानसेन नगरपालिकाको खाद्यान्न तथा अन्य सहयोगमा क्वारेन्टाइन सेवा शुरु गरिएको नगर प्रमुख अशोक कुमार शाहीले बताए । त्यसैगरी तानसेनमा ३ वटा अस्पतालमा २५ बेडको आइसोलेसन वेड तयारी अवस्थामा राखिएको छ ।

रम्भा गाउँपालिकाले वडा ५ रम्भा मावि ताहुँमा ५० वेडको क्वारेनटाइन सेवा शुरु गरेको छ । रैनादेवी छहरा गाउँपालिकाले वडा ४ को पुरानो स्वास्थ्य चौकीमा १५ बेडको क्वारेनटाइन सेवा शुरु गरेको छ । त्यस्तै माथागढी गाउँपालिकाले वडा ३ मा कसेनीको दिव्यज्योती माविमा र वडा ४ को झडेवाको किसान माविमा गरी ३० बेडको क्वारेन्टाइन सेवा शुरु गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिए । तिनाउ गाउँपालिकाले पनि वडा २ मा रहेको दोभान माविमा १० वेडको क्वारेन्टाइन शुरु गरेको छ । गाउँपालिकाले चैत्र ९ गतेदेखि पाल्पाका प्रमुख नाकामा यात्रुहरुको स्वास्थ्य परीक्षण समेत गर्दै आएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । रिब्दीकोट गाउँपालिकाले पनि वडा ३ को खस्यौलीमा रहेको सरस्वती माविमा ५० वेडको क्वारेन्टाइन सेवा शुरु गरेको छ ।

बगनासकाली गाउँपालिकाले वडा १ को ग्राम्य मावि र वडा ९ को चन्द्र माविमा २० वेडको क्वारेन्टाइन सेवा शुरु गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिए । जिल्लाभन्दा बाहिर र विदेशबाट आएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएमा उनीहरुलाई छुट्टै राख्नका लागि बुधबारदेखि क्वारेन्टाइनको व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए । रामपुर नगरपालिकाले वडा ५ को बालकल्याण प्राथमिक विद्यालयमा २० वेडको क्वारेन्टाइन सेवा शुरु गरेको छ । पूर्वखोला गाउँपालिकाले १० वेडको क्वारेन्टाइन सेवा सञ्चालन गर्दैछ । निस्दी गाउँपालिकाले पनि १० वटा वेड सहितको क्वारेन्टाइन सञ्चालनका लागि तयारीमा जुटेको जनाएको छ ।
जिल्लाका १० वटै स्थानीय तहहरुले एक हप्ता भित्रमा वडा–वडामा तेस्रो देशबाट आएका नागरिकहरुको तथ्याड्ढ संकलन गर्न वडा अध्यक्षदेखि स्वास्थ्य स्वयमसेविकाहरु जुटेका छन् । एक दुई दिन भित्रमा सबै गाउँपालिकाबाट भारत लगायत अन्य देशबाट आएका नागरिकहरुको तथ्याड्ढ संकलन हुने सम्बन्धित स्थानीय तहका अध्यक्षहरुले बताएका छन् ।

कोरोनाबाट बच्न जिल्लामा सेल्फ क्वारेनटाइनमा बस्नेको संख्या उल्लेखनीय रहेको छ । निषेधाज्ञा लागु भएपछि सडक बजार सुनसान भएका छन् । प्रहरीले अटेर गरी चलाएका सवारी साधन नियन्त्रणमा लिई कारवाही शुरु गरेको छ । तराईसँग जोडिएका तिनाउ, रैनादेवी, माथागढी, निस्दी गाउँपालिकामा विभिन्न नाकाबाट तराईबाट मानिसहरु अवैध रुपमा भित्रिएको पाईएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update