रामचन्द्र रायमाझी
पाल्पा, लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष सकिन १० दिन बाँकी रहँदा ६० प्रतिशत मात्र बजेट खर्च गरेको छ । असार २२ गतेसम्मको तथ्याङ्कलाई हेर्दा प्रदेश सरकारले ६०.८९ प्रतिशत मात्र बजेट खर्च गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारले यही समयसम्म कुल बजेटको ६९ प्रतिशत बजेट खर्च गरेको थियो । उसले यस पटक भने ८ प्रतिशत कम बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको थियो । जसमा २४ अर्ब ९४ करोड २४ लाख अर्थात् ६०.८९ प्रतिशत मात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले बताए । चालुतर्फ १८ अर्ब ४८ करोड ८१ लाख बजेट विनियोजन भएकोमा ११ अर्ब ६६ करोड ३३ लाख अर्थात् ६३ प्रतिशतमा बजेट खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ २२ अर्ब ४७ करोड १६ लाख बजेट छुट्याएकोमा १३ अर्ब २७ करोड ९१ लाख अर्थात् ५९.०९ प्रशित मात्र बजेट खर्च भएको लेखा नियन्त्रक ज्ञवालीले बताए ।
उनका अनुसार प्रदेश सरकारले चालू आर्थिक वर्षको असोजमा प्रतिस्थापन बजेट ल्याउँदा खर्चमा ढिलाइ भएकाले बजेट खर्चमा कमी आएको हो । बजेट खर्चको समयमा निर्वाचन परेकाले पनि खर्चको दरमा कमी आएको लेखा नियन्त्रक ज्ञवालीले बताए । आर्थिक वर्षको अन्त्यतिर आएर मात्र प्रदेश सरकारको खर्चको दर बढाउँदै लगेको छ । प्रदेश सरकारले पछिल्लो २० दिनको अवधिमा मात्र १०.४७ प्रतिशत बजेट खर्च गरेको छ । बाँकी रहेको १० दिनमा प्रदेश सरकारले थप १० प्रतिशत खर्च गर्ने अनुमान गरिएको छ । असार मसान्त नजिक आउँदै गर्दा खर्चको दर पनि बढ्दै गएको प्रदेश लेखा नियन्त्रणको कार्यालयले जनाएको छ । प्रदेश सरकारले आर्थिक वर्षको ९ महिनामा १ तिहाई पनि बजेट खर्च गर्न सकेको थिएन ।
९ महिनामा चालु र पूँजीगत खर्च गरी ३२.८८ प्रतिशत अर्थात् १३ अर्ब ४६ करोड ५८ लाख ३६ हजार ५ सय ६६ बजेट खर्च गरेको थियो । यस्तै जेठ मसान्तसम्म चालु र पुँजीगत खर्च गरी ४५.३३ प्रतिशत अर्थात् १८ अर्ब ५६ करोड ५१ लाख ७६ हजार ८३ बजेट खर्च गरेको थियो । जसमा चालुतर्फ ४५ दशमलव ६१ प्रतिशत र पुँजीगत खर्चतर्फ ४५ दशमलव १० प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले असार महिनाको २२ दिनमै खर्च बढाएर चालुतर्फ ६०.८९ प्रतिश र पुँजीगततर्फ ५९.०९ प्रतिशत पु¥याएको छ । प्रदेश सरकारले समय रहुञ्जेल काम नगर्ने र आर्थिक वर्षको अन्तिममा आएर मनलाग्दी रूपमा बजेट खर्च गर्ने गरेको छ । उसले कार्यान्वयन नै नहुने स्रोत र खर्चको अनुमान गरेर ठूलो आकारको बजेट ल्याएकाले पनि बजेट खर्च गर्न नसकेको हो । संघीय सरकारको सिको गरेर खर्च गर्ने क्षमता नबढाउने, तर ठूलो आकारको बजेट ल्याउने प्रवृत्तिका कारण बजेट खर्चमा समस्या देखिएको हो । प्रदेश सरकारले आर्थिक बर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ७ लाख बराबरको बजेट ल्याएको छ । जसमा चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार अर्थात कुल बजेटको ३१.२६ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार अर्थात् कुल बजेटको ५७.४१ प्रतिशत विनियोजन गरिएको छ ।