Shittalpati
कोरोना विपद् कोषमा एनसेलको दश करोड

काठमाडौं (एजेन्सी), एनसेल प्राईभेट लिमिटेडले कोरोना विपद् कोषमा दश करोड सहयोग गरेको छ । कम्पनीले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोरोना विपद् कोषमा दश करोड सहयोग गरेको हो ।
कम्पनीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेको जनाएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिँडारीलाई दश करोडको चेक हस्तान्तरण गरेका छन् । ‘सिंगो विश्व कोभिड–१९ विरुद्ध लडिरहँदा नेपाल पनि एकजुट भएर यो संक्रमणसँग जुधिरहेको छ । कोरोनाबाट हरेक नागरिकलाई जोगाउनुका साथै सम्भावित संक्रमणको उपचारका लागि हामीले सम्पूर्ण ध्यान केन्द्रित गरेका छौं । सरकारको यो सत्प्रयासमा एनसेलजस्तो निजी क्षेत्रको ठूलो सेवाप्रदायकले गरेको योगदान सराहनीय छ । यो सहयोगले तत्कालिक सेवा प्रवाहमा ठूलो भूमिका खेल्नेछ’ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिँडारीले भने । ‘एनसेल सधैँ जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेलले सरकारको कोभिड–१९ कोषमा गरेको सहयोग यसकै निरन्तरता हो । यो सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई कोभिड–१९ विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिवद्ध रहेको जानकारी गराउन चाहन्छौं । हामी विश्वस्त छौं, यो हाम्रो योगदानले कोरोना रोकथामका लागि स्वाथ्यकर्मीहरूलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरुको खरिदमा सरकारलाई सहयोग हुनेछ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने । अप्रत्याशित अवस्थामा आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न एनसेल प्रयासरत रहेको छ ।

  स्थापनाकालदेखि एनसेलले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा ८० करोड बढी सहयोग गरिसकेको छ । त्यति मात्र होइन शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापन तथा राहतजस्ता क्षेत्रमा एनसेलले योगदान पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update