Shittalpati
पाल्पामा अत्यावश्यक वस्तुको साँझ विहान पसल खोल्न आग्रह

पाल्पा, कोरोना भाइरसको सक्रमणबाट जोगिन जिल्लामा निषेधाज्ञा लगाईएपछि बन्द भएका अत्यावश्यक वस्तुका पसलहरु साँझ विहान खोल्न आग्रह गरिएको छ । निषेधाज्ञाको अवधिमा औषधी, खाद्यान्न, तरकारी, खानेपानी, इन्धन लगायतका अतिआवश्यक वस्तुको अभाव हुन नदिन जिल्ला बजार अनुगमन समितिले व्यवसायीहरुलाई आग्रह गरेको हो । तानसेनमा बसेको बजार अनुगमन समितिको बैठकले व्यवसायी र उपभोक्तालाई सहज हुने गरी विहान ७ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म अत्यावश्यक वस्तुको पसलहरु खोली खरिद बिक्रीको व्यवस्था मिलाउन व्यवसायीहरुलाई आग्रह गरेको छ ।

उद्योग व्यवसायीलाई लकडाउनको अवधिलाई पुग्ने गरी औषधी, खाद्यान्न, तरकारी, खानेपानी, इन्धन लगायतका अतिआवश्यक वस्तुको अधिकतम मौजदात राख्न बजार अनुगमन समितिले सुझाव दिएको छ । कोरोनाका संक्रमणबाट जोगिन पसल बाहिर सावुन पानीले हातधुने व्यवस्था गर्ने र क्रेता तथा विक्रेता दुबैले मास्क लगाएर खरिद बिक्री गर्ने कार्य मिलाउन समितिले व्यवसायीलाई आग्रह समेत गरेको छ ।यसैगरी समितिले औषधीजन्य वस्तु तथा सेवा र पेट्रोलियम पदार्थको नियमित आपूर्तिको व्यवस्था मिलाउन, खानेपानीको सहज आपूर्ति गर्न तानसेन खानेपानी उपभोक्ता समिति लगायत जिल्लाका सबै खानेपानी उपभोक्ता समितिले आवश्यक प्रबन्ध गर्न आग्रह गरेको छ ।

बैठकले नेपाल विद्युत प्राधिकरणले विना अवरोध नियमित विद्युत आपूर्तिको व्यवस्था गर्ने, तरकारी र दूध बोक्ने सवारी साधनहरु गाउँ सहर निर्वाध रुपमा सञ्चाल नगर्ने, औषधी, खाद्यान्न, तरकारी, खानेपानी, इन्धन लगायतका अतिआवश्यक वस्तुको मूल्य वृद्धि गर्ने, मौजदात राखेर कृत्रिम अभाव खडा गर्ने, कालोबजारी गर्ने जस्ता कार्यहरुलाई निरुत्साहित गर्न र सहज आपूर्तिको व्यवस्था मिलाई आवश्यकता अनुसार अनुगमन निरीक्षण गर्न पाल्पा उद्योग वाणिज्य संघ, पाल्पाव् यापार संघलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । जिल्लामा आपूर्तिको व्यवस्थालाई प्रभावकारी बनाउन बजार अनुगमन समितिले नियमित अनुगमन गर्ने समेत निर्णय भएको जिल्ला समन्वयअधिकारी लेखनाथ ज्ञवालीले जानकारी दिए । जिल्ला समन्वय समितिका कार्यवहाक प्रमुख मिरा मरासिनीको अध्यक्षतामा बैंठक बसेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update