Shittalpati
पुष्पलाल स्मृति र प्रतिष्ठान नेपाल

गोविन्द भट्टराई
वाम तथा लोकतन्त्रका मूर्धन्य व्यक्तित्व पुष्पलालप्रति उनको योगदानका कारण सबै कम्युनिष्ट घटक मात्र होइन् प्रजातन्त्रवादी खेमासमेत नतमस्तक हुन्छन् । नेपालकै तेस्रो नगरपालिकाको पहिचान बनाएको तानसेन नगरपालिकाले नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व पुष्पलालको योगदानलाई चिरस्थायी गराउने मुख्य उद्देश्यले उहाँको स्मृतिमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा समावेशी, साझास्वरुपसहित पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोष २०७५ स्थापना गरेको थियो । त्यसो त स्थानीय निर्वाचन २०७४ बाट निर्वाचित तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीकै कार्यकालमा जननायक वीपी कोईरालाको योगदानको सम्मानस्वरुप वीपी स्मृति प्रतिष्ठान गठन भएको तथ्य स्मरण गर्न सकिन्छ । वर्तमान मेयर सन्तोषलाल श्रेष्ठले समेत ती संस्थाहरुलाई यथोचित ढंगले सहयोग गर्ने बचन दिनुले मोफसलबाट पनि राष्ट्रिय व्यक्तित्वहरुको कदर सम्भव छ भन्ने सन्देश तानसेन नगरपालिकाले प्रस्तुत गरेको छ भन्दा फरक नपर्ला । यसर्थ पुष्पलाको योगदानलाई चिरस्थायी बनाउन स्थापित पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार अर्थात् पुष्पलाल स्मृति प्रतिष्ठान र पुष्पलालका विषयमा यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको १५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्म भएको हो । श्रेष्ठको ७ साउन २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको नेपाली राजनीतिमा मुख्य योगदान नै नयाँ विचारको सूत्रपात हो। स्थापनाको ठाउँ खोजेर छटपटाउँदै गरेको समाजवादी विचारधारालाई नेपालमा उनले औपचारिक रूपमा स्थापित गरे । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य,नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भए । छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलाललको सुब्बाको जागिर खोसिएको थियो । २०१७ सालको राजाको कदम पछाडी उनले भूमिगत निर्वासित जीवन विताएका थिए । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उनी पहिलो नेता समेत हुन् । उनको योगदानको अहिले जताततै सम्झने गरिएको छ । पाल्पामा पनि पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार समेत स्थापना गरिएको छ । पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोष २०७५ को दोस्रो साधारणसभा (२०७८ चैत्र) ले संस्थाको कार्य दायरा फराकिलो बनाउनका लागि नाम परिवर्तन गर्ने निर्णय गरेअनुसार हाल पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल, पाल्पा, तानसेनका नामबाट कामलाई निरन्तरता दिइआएको छ । संस्थाको प्रथम साधारण सभा (२०७६ माघ) को निर्णय अनुसार पहिलोपटक पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई २०७७ असोज ६ गतेका दिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट शीतलनिवासमा आयोजित विशेष समारोहबीच प्रदान गरिएको थियो ।

यस संस्थाको साधारणसभाले कोषलाई स्वतन्त्र र स्वायत्त संस्थाको रूपमा विकसित गर्दै नेपाली समाजको रूपान्तरण र विकासमा पत्रकारिताका माध्यमबाट योगदान गर्ने राष्ट्रिय व्यक्तिहरुको सूची बनाई सम्मानित गर्दै जाने, पुष्पलालको योगदान समेटेर स्मारिका प्रकाशन, पुष्पलालको योगदान चिरस्थायी बनाउने ढंगका रचनात्मक कार्यक्रम आयोजना गर्ने नीति अघि सारेको छ । यद्यपि स्थापनाको लगत्तै सुरु कोरोनाको विभिन्न लहर र नेपाल सरकारले जारी गरेको तत्कालीन निषेधाज्ञाका कारण जनजीवन शंकटपूर्ण बनेको विगत परिवेशमा संस्थाका सम्पूर्ण गतिविधि अवरुद्ध बन्न पुग्यो ।

दोस्रो साधारणसभाले पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ का लागि व्यक्तित्व सिफारिस समितिबाट सिफारिस भइ आएका नामहरु मध्येबाट उपयुक्त व्यक्तित्व १ जना पुष्पलालका समकालिन तथा वरिष्ठ पत्रकार तथा पूर्व राजदूत कमल कोइरालालाई उपयुक्त दिन र स्थानमा समारोहबीच पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको छ । छनौट भएका व्यक्तित्वलाई पुरस्कार प्रदान गर्नका लागि साधारणसभाले आवश्यक व्यवस्थापन गर्न गोविन्द भट्टराई, किशोर श्रेष्ठ, झपेन्द्र गहिरे र राजेशकुमार अर्याललाई अख्तियारी प्रदान गरेको छ । यस संस्थाले हरेक वर्ष पुष्पलाल स्मृति दिवसका अवसरमा सामुदायिक रेडियो मदनपोखराबाट पुष्पलालका योगदानमा आधारित रेडियो परिसंवाद कार्यक्रम सञ्चालन गरिआएको छ । उक्त कार्यलाई निरन्तरता दिइने र सम्भव भएमा उक्त दिन वा अवसर पारेर पुष्पलालका समकालीन व्यक्तित्वबाट कार्यपत्र प्रस्तुत गर्ने गरी अन्र्तक्रियात्मक कार्यक्रम समेत आयोजना गरिने निर्णय कार्यसमितिले गरेको छ ।

कोषको मुख्य उद्देश्य लोकतन्त्रका मूर्धन्य ब्यक्तित्व पुष्पलालको योगदानलाई चिरस्मरणीय बनाउने, मर्यादित र पेशागत पत्रकारिताको विकास गर्न नेपाली पत्रकारहरुलाई प्रोत्साहित गर्ने तथा राष्ट्रियता, लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्यायका लागि पैरवी गर्ने नै हो । पुष्पलाल, वीपी कोइराला, गणेशमान, मनमोहन, मदन भण्डारी जस्ता सत्पात्रहरुलाई फलानो विचार अनि धारको नेता भन्नुको सट्टा नेपालका साँझा नेताका रुपमा सम्मान गर्नुपर्ने तथ्य महसुस गर्दै तानसेनले यी संस्थालाई अगाडि बढाएको यथार्थ मनन गर्दै स्थानीय, प्रदेश, संघीय सरकारलगायत सरोकारवाला सबैसँग यथासक्य संस्थागत सहयोगका लागि हामी हार्दिक आग्रह गर्दछौँ ।
(लेखक पुष्पलाल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष समेत हुन्)

प्रकाशित मिति: बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update