
रामचन्द्र रायमाझी/कृष्ण पोखरेल
तानसेन, कोरोना भाइरसको सक्रमणबाट जोगिन सरकारले ‘लकडाउन’ गरेपछि त्यसको प्रभाव पाल्पामा पनि देखिएको छ । जिल्लामा मंगलबार विहान ६ बजेदेखि ३ बजेसम्म लगाईको लकडाउनले जिल्लाको जनजिवन प्रभावित बनेको छ । मानिसहरु अत्यावश्क बाहेक सरसमान किन्न घरबाहिर निस्केका छैनन् । निस्किएका व्यक्तिहरु समेत माक्स लगाएर मात्र औषधी पसल तथा दूध डेरीसम्म पुगेका छन् । जिल्ला प्रशासनले मंगलबार दिउसो ३ बजे सम्म ‘लकडाउन’ जारी राखे पनि सर्वसाधारणले हिँडडुल गर्न र दैनिकी नछाडेपछि निषेधाज्ञा (कर्फ्यू) नै जारी गरेको छ । जिल्लामा मंगलबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो । प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बोमोजिम कोरोना भाइरस संक्रमण रोक्न निषेधाज्ञा जारी गरेको जनाएको छ ।
२०७६ चैत ११ गतेदेखि चैत १८ गतेसम्म निषेधाज्ञा जारी रहने छ । लकडाउनसँगै निषेधाज्ञा पछी व्यापार व्यवसायी नै बन्द गरेर स्थानीयहरु ‘सेल्फ–क्वारेन्टाइन’ मा बसेका छन् । तानसेनको तेस्रो सडकमा ढाका व्यवसायी गर्दै आएका हरि रायमाझीले कोरोना संक्रमणको जोखिमबाट बच्न भन्दै शनिबारदेखि नै पसल बन्द गरी स–परिवार ‘सेल्फ–क्वारेन्टाइन’मा बसेको बताए । ‘पसल खोलेपछि परिचिति–अपरिचित आइहाल्छन् जसले गर्दा आफू र परिवारजन संक्रमित भइन्छ भन्ने लागेर बन्द गरेको हुँ,’ रायमाझी भन्छन् । व्यवसायी भन्दा स्वास्थ्य महत्वपूर्ण भएकाले सतर्कता अपनाएको उनले बताए । रायमाझीले रोग लाग्नुभन्दा रोग लाग्न नदिनका लागि पूर्वसतर्कता अपनाउन आफु र परिवार ‘सेल्फ–क्वारेन्टाइन’मा रहेको बताउँछन् ।
एक जना पनि संक्रमित भएमा सम्पूर्ण परिवारकै स्वास्थ्य जोखिममा पर्ने हुनाले पसल नै बन्द गरेर पूर्वसतर्कता अपनाएको उनले बताए । तानसेनकै असनटोलमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी कमला खड्का पनि पसल नै बन्द गरेर घरमै बसेकी छन् । उनले जताततै कोरोनाको त्रास बढ्दै गएकाले आफुमा पनि एक किसिमको त्रास रहेको बताईन् । ‘आफू पनि जोगिन र अरुलाई पनि जोगाउन परिवार सहित घरमै बसिरहेको छु,’ उनी भन्छिन्, ‘स्थितिमा सुधार आएपछि मात्र पसल खोल्नु पर्ला ।’ लकडाउन पछिको निषेधाज्ञाका कारण तानसेन लगायत जिल्लाका १० वटै स्थानीय तहका बजारहरु पूर्ण रुपमा बन्द रहेका छन् । सिद्धार्थ राजमार्ग, तानसेन तम्घास सहायक राजमार्गमा कुनै पनि सार्वजनिक तथा निजी सवारी साधन चलेका छैनन् ।
सिद्धार्थ राजमार्गको बर्तुङ्ग, तानसेन बसपार्क, जिल्ला भित्रने तथा बाहिरीने नाकाहरुमा प्रहरीले सवारी साधन प्रवेशमा रोक लगाएको छ । जिल्लामा अत्यावश्यक सेवा, एम्बुलेन्स, दूध, पानी, तरकारी तथा खाद्यान्न, औषधी ओसार पसारका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी साधन सञ्चालन एक दिने पास लिएर मात्र सञ्चालनको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । अत्याश्यक सरसमानको बाहेक आफुखुसी सवारी साधन चलाएमा सवारी साधन नियन्त्रणमा लिई सवारीधनीलाई कारवाही गरिने प्रजिअ सुवेदीले बताए । जिल्लाका मुख्य नाका, सिद्धार्थ राजमार्गको दोभान, राम्दी, स्याङ्जा, तनहँु, नवलपरासीको सिमानाका रामपुर अर्घाखाँचीको छहरा, गुल्मीको अर्गली, नवलपरासीको मित्याल, गोठादी लगायतका नाकामा प्रहरीले सवारी साधन आवत–जावतमा रोक लगाएको जिल्लाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताए ।
लकडाउनको कारण तानसेनका सबै व्यापारी पसल, उद्योगधन्दा पूर्ण रुपमा बन्द रहेका छन् भने चोक–चोकमा प्रहरी परिचालन भएका छन् । जिल्लाको हार्थाेक, अर्गली बतासे, छहरा, आर्यभञ्ज्याङ्ग, ताहुँ, रामपुर बजार पूर्णरुपमा बन्द रहेका छन् । राजमार्ग क्षेत्रका होटलदेखि तानसेन बजारका होटल तथा रेष्टुराहरु समेत बन्द रहेका छन् ।
नाकामा स्वास्थ्य चेकजाँच :
तिनाउ गाउँपालिकाले सोमबारदेखि सिद्धार्थ राजमार्गको दोभानमा भित्रिने अत्यावश्यक सवारीधनी चालक यात्रुहरुमा सोमबारदेखि हेल्थ डेक्स स्थापना गरी ज्वरो तथा रुघाखोकी चेकजाँच गर्दै आएको छ । पाल्पा जिल्लासंगै, गुल्मी, अर्घाखाँची, स्याङ्जा क्षेत्रमा कोरोना भाइरस सक्रमण नहोस् भनी गाउँपालिकाले सिद्धार्थ राजमार्गको दोभानमा नेपाली सेना, प्रहरी तथा स्वास्थ्य कार्यकर्ताको सहयोगमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म चेकजाँच अभियान जारी राखेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए ।
पाल्पामा क्वारेनटाइनको अवस्था :
जिल्लामा क्वारेन्टटाइनका लागि विशेष व्यवस्था मिलाइएको छ । राजनीतिक दल, सभासद, सुरक्षा निकाय तथा अस्पतालका प्रमुख सहित बसेको बैठकले तानसेन नगरपालिका ६ को बर्तु·को जनप्रिय माध्यमिक विद्यालयलमा ५० वेडको क्वारेनटाइन सञ्चालन गर्ने भएको छ । स्थानीयतहका स्वास्थ्य चौकी तथा जिल्ला अस्पताल, युनाटेड मिसन अस्पताल, लुम्बिनी मेडिकलबाट सिफारिस भएका शंकास्पद विरामीलाई क्वारेनटाइनमा राखिने छ । रामपुर नगरपालिकाले पनि २० वेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । नगरपालिकाले रामपुर ५ सानी अमराई स्थित बालकल्याण प्राथमिक विद्यालयमा क्वारेन्टाइन निर्माण गर्न लागेको हो ।
मन्दिरमा हुने पुजा बन्द :
पुजाआजाको लागि मन्दिरमा भक्तजनहरुको भिडभाड हुने भन्दै जिल्लाका मन्दिरहरुमा पुजाआजामा समेत रोक लगाईएको छ । पुजारीले गर्ने नित्य पुजा बाहेकका अन्य पुजा अर्काे सूचना जारी नभएसम्मका लागि रोक लगाएको भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले बताए । भैरव मन्दिर, तानसेनका भगवती, नारायण मन्दिर, रिडीको ऋषिकेशव मन्दिर अहिले चर्चित मन्दिरहरुमा नित्यपुजा मात्र भईरहेको छ ।
डोकोमा बोकेर तरकारी विक्री :
जिल्लामा लकडाउन गरेपछि तानसेन बजार नजिकका किसानहरुले उत्पादन गरेका तरकारी डोकोमै बोकेर बजारमा विक्रिका लागि ल्याउने गरेका छन् । तानसेनको बर्तु·, मदनपोखरा, बन्दीपोखरा, बाँझा, बराङ्गदी, डुम्रे क्षेत्रका किसानहरुले डोकोमै तरकारी बोकेर विक्री गरेका छन् । बजारमा ताजा तरकारी पु¥याउने र आफ्नो उत्पादन समेत विक्री हुने भएकाले हरियो लसुन विक्री गर्न आएको माथागढी कौडेलेकका रामबहादुर चौहानले बताए ।