Shittalpati
बुटवलमा प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह

बुटवल, नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार) तथा छठ पर्वलाई स्वच्छ, स्वस्थ, वातावरणमैत्री र मौलिक संस्कृतिको संरक्षणसहित मनाउन बुटवल उपमहानगरपालिकाले सम्पूर्ण नगरवासीमा हार्दिक अपिल गरेको छ । उपमहानगरपालिकाले पर्वका अवसरमा प्लास्टिकजन्य कृत्रिम फूल तथा माला प्रयोग नगर्न र स्थानीय रूपमा उत्पादित प्राकृतिक फूल तथा मालाको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेको हो ।

नगर प्रमुख खेलराज पाण्डेयले जारी गरेको अपिलमा उपमहानगरपालिकाले चाडपर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वलाई कायम राख्दै वातावरण संरक्षण तथा जनस्वास्थ्यप्रति समेत सचेत रहन सबैलाई आग्रह गरेको छ । विशेषगरी तिहारमा घर, मन्दिर, कार्यालय तथा विभिन्न स्थान सजाउन प्रयोग गरिने प्लास्टिकजन्य कृत्रिम फूल र मालाले वातावरण प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्न सक्ने भएकाले यसको प्रयोग निरुत्साहित गर्नुपर्नेमा उपमहानगरपालिकाले जोड दिएको छ । तिहारमा घरघरमा फूलमाला लगाउने, घर सजाउने, लक्ष्मीपूजा गर्ने तथा दिदीबहिनीले दाजुभाइलाई टीका र माला लगाइदिने परम्परा रहिआएको छ। पछिल्लो समय बजारमा प्लास्टिकबाट बनेका कृत्रिम फूल तथा मालाको प्रयोग बढ्दै गएको सन्दर्भमा उपमहानगरपालिकाले प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्न खोजेको हो । प्लास्टिकजन्य फूल तथा माला प्रयोग गर्दा चाडपर्वपछि उत्पन्न हुने फोहोर व्यवस्थापनमा चुनौती थपिन सक्ने र यस्ता सामग्री लामो समयसम्म वातावरणमा रहिरहने भएकाले प्राकृतिक फूलमालाको प्रयोग वातावरणीय दृष्टिले उपयुक्त हुने उपमहानगरपालिकाको अपिलमा उल्लेख छ ।

प्राकृतिक फूलको प्रयोगले वातावरण स्वच्छ राख्न सहयोग पुग्नुका साथै स्थानीय किसान, फूल उत्पादक तथा व्यवसायीको आर्थिक गतिविधिलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । त्यसैले तिहार तथा छठ पर्वमा स्थानीय स्तरमा उत्पादित सयपत्री, मखमलीलगायतका फूल तथा मालाको प्रयोग गर्न उपमहानगरपालिकाले नगरवासीलाई अनुरोध गरेको छ । नगर प्रमुख पाण्डेयले तिहार तथा छठ पर्वको अवसरमा नगरवासी आमा–बुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मंगलमय शुभकामना व्यक्त समेत गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update