पाल्पा, प्रेमको प्रतीकका रूपमा परिचित पाल्पाको ऐतिहासिक रानीमहल संरक्षणको अभावमा कुरूप बन्दै गएको छ । गत असोज ११ गतेको अविरल वर्षापछि आएको डुबान र बाढीले रानीमहल आसपासको बस्ती बगरमा परिणत गरेको छ । हिजोसम्म चहलपहल हुने क्षेत्र अहिले बालुवा, गिट्टी र ढुंगाले भरिएको छ । त्यति मात्र होइन् व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका स्थानीयका सपना बाढीसँगै बगरमा परिणत भएका छन् ।
बाढी र डुबानका कारण रानीमहल आसपासका एक दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन् । सडक, पार्किङस्थल तथा रानीमहल प्रवेश गर्ने क्षेत्रमा बालुवा र गिट्टी थुप्रिँदा क्षेत्रको स्वरूप नै बदलिएको छ । स्थानीयका अनुसार बाढीले व्यवसाय सञ्चालन गर्ने संरचनादेखि सडक र पूर्वाधारसम्ममा क्षति पुर्याएको छ । प्राकृतिक विपत्तिले रानीमहल आसपासको बस्तीमा ठूलो क्षति पुर्याए पनि अहिलेसम्म सम्बन्धित निकायबाट अपेक्षित चासो नदेखिएको स्थानीयको गुनासो छ । विपत्तिपछि पुनःस्थापना, सरसफाइ र क्षतिग्रस्त संरचनाको मर्मतमा ठोस पहल नहुँदा उनीहरूको आक्रोश बढ्दै गएको छ । विपत्तिको समयमा जनताको पीडा र क्षतिको अवस्था बुझ्नसमेत जनप्रतिनिधि नआएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । स्थानीय युवा शंकर बस्यालले विपत्तिका बेला बेखबर रहने नेताहरू चुनावका बेला भने मत माग्न आउने गरेको भन्दै आक्रोश पोखे । “यत्रो विपत्ति हुँदा अहिलेसम्म के भयो भनेर सोध्नसमेत नआउने नेताहरू अब चुनावका बेला लर्को लागेर आउनेछन् । त्यतिबेला उनीहरूलाई लखेट्ने हो,” बस्यालले आक्रोश व्यक्त गर्दै भने । विपत्तिपछि तत्काल गर्नुपर्ने सरसफाइ, आवागमन सहज बनाउने काम र प्रभावित क्षेत्रको पुनःस्थापनामा ढिलाइ हुँदा रानीमहल पुग्ने पर्यटकको आवागमनमा समेत असर पर्न सक्ने उनले बताए । रानीमहलको पीडा बाढीले आसपासको बस्तीमा पुर्याएको क्षतिमा मात्रै सीमित छैन । ऐतिहासिक महत्व बोकेको महलको बाहिरी स्वरूप र संरक्षणको अवस्थालाई लिएर पनि प्रश्न उठ्न थालेका छन् । तानसेन नगरपालिकाको जिम्मेवारीमा रहेको रानीमहलको रङरोगन तथा मर्मतसम्भारमा पर्याप्त ध्यान नदिइएको स्थानीयको आरोप छ । रङरोगनको अभाव र जीर्ण देखिने बाहिरी स्वरूपका कारण प्रेमको प्रतीकका रूपमा चिनिएको महलको सौन्दर्य खस्किएको उनीहरूको भनाइ छ ।
ऐतिहासिक सम्पदाको संरक्षण, नियमित मर्मतसम्भार र पर्यटकीय क्षेत्रको व्यवस्थापन स्थानीय सरकारको प्राथमिकतामा पर्नुपर्ने हो । तर, रानीमहलको वर्तमान अवस्थाले संरक्षणसम्बन्धी काम प्रभावकारी रूपमा अघि बढेको छ कि छैन भन्ने प्रश्न उठाएको छ । कर संकलनमा सक्रिय हुने स्थानीय सरकारले पर्यटकीय सम्पदाको संरक्षण र विपत्तिपछिको पुनःस्थापनामा पनि उत्तिकै जिम्मेवारी देखाउनुपर्ने बस्यालले बताए ।रानीमहलको सरंक्षरण र व्यवस्थापनको जिम्मेवारी पाएको तानसेन नगरपालिकाले भने आफुहरुको क्षेत्र अधिकार भित्र क्षति भएको संरचनाहरुको हटाउने र व्यवस्थापन गर्ने काम गरेको दावी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले नगर सरकारको क्षेत्र अधिकार भित्र क्षति भएका संरचनाहरु तत्काल हटाउने काम गरिएको दावी गरे । उनले रानीमहल दरबार परिसरमा अहिले त्यस्तो कुनै पनि अस्तव्यस्त नरहेको प्रतिक्रिया दिए । अधिकृत गिरीले रानीमहल क्षेत्र वरपर अस्तव्यस्त अवस्थामा देखिने संरचना बगनासकाली गाउँपालिका भित्रको रहेकाले त्यो काम बगनासकालीले नै गर्नुपर्ने बताए । बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले भने आफुहरुले स्याङ्जाको कालीगण्डकी गाउँपालिकासँग समन्वय गरी तत्काल त्यहाँको बाटो खुलाउने काम गरेको बताइन् ।
उनले त्यति बेला पानी निरन्तर परिरहेको र पछि दशै विदा परेकाले तत्काल व्यवस्थापनको काम गर्न नसकिएको र अबको एक ÷दुई दिनमै डोजर पठाएर पुरिएका सामान र बगर सम्याउने काम हुने अध्यक्ष चिदीको भनाई छ । उनले जिल्ला विपद् व्यवस्थापन समितिको बैंठक बसेर राहत र पुनःस्थापनाका विषयमा छलफल हुने र सोही अनुसार पालिकाले पनि निर्णय गरेर योजना बनाउने बताइन् । स्थानीयका लागि अहिले सबैभन्दा महत्वपूर्ण प्रश्न राजनीतिक आरोप–प्रत्यारोप होइन, भत्किएको जनजीवन कसरी सामान्य बनाउने भन्ने हो । पुरिएका सडक र पार्किङ क्षेत्र सफा गर्ने, प्रभावित व्यवसायीलाई राहत तथा पुनःस्थापनामा सहयोग गर्ने र रानीमहलको सौन्दर्य पुनःस्थापित गर्ने काम तत्काल अघि बढ्नुपर्ने उनीहरूको माग छ ।


