Shittalpati
ग्लोबल र बैंक अफ काठमाण्डू गाभिने

पाल्पा, ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बैंक एक आपसमा गाभिने भएका छन् । गाभिनका लागि दुवै बैंकले बिहीबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुवै बैंक समान सेयर अनुपात (१ः१) मा गाभिन लागेका हुन् ।

समझदारीपत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जरपश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आईएमई बीओके हुने र सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको सम्पत्ति तथा दायित्वको मूल्यांकनबाट सिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोहीअनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आईएमई बीओकेमा ५ वटा ‘क’ वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । मर्जरपश्चात बैंकको कुल पुँजी ५२.२९ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३४.४१ अब रुपैयाँ, कुल निक्षेप ३ सय ८४ अर्ब रुपैयाँ, कुल कर्जा ३ सय ८० अर्ब रुपैयाँ सहित कुल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update