पाल्पा, देशभर रासयनिक मलको अभाव भएका समाचार आइरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसनले भने मल ल्याउन धमाधम काम थालेको छ । एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको कर्पोरेसनले केही मल ल्याई सकेको र केही मल असार पहिलो हप्ता ल्याउने गरी काम अगाडि बढाएको जनाएको छ ।
अहिलेसम्म कर्पोरेसनले १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश ल्याइसकेको छ । उक्त मल आफ्ना डिपो/बिक्री कक्षमार्फत धमाधम वितरण गरिरहेको उसले जनाएको छ । २२ हजार मेट्रिक टन युरिया मल आगामी असारको पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पोरेसनले जनाएको छ । डीएपीमध्ये बाँकी तीन हजार मेट्रिक टन भारतको कोलकाता बन्दरगाहमा आइसकेको उसले जनाएको छ । रोपाइँका समयमा देशभर रासायनिक मलको चरम अभाव भइरहँदा ती मलले किसानलाई केही भए पनि राहत मिल्ने कर्पोरेसनले जनाएको छ । कर्पोरेसले इण्डोनेसिया बाट युरिया मल झिकाएको हो । सरकारले यसपटक कर्पोरेसनलाई कुल एक लाख मेट्रिक टन मल आयात गर्न अनुदान दिएको थियो । यो कुल अनुदान आयातको ३० प्रतिशत हिस्सा मात्र हो । बाँकी अर्को सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
कृषि मन्त्रालयले यसपटक मलमा मात्र करिब ११ अर्बभन्दा बढीको अनुदान प्रदान गरेको जनाइएको छ । किसानले समयमै मल नपाउँदा पिरलिएका छन् । मकै र धानमा मल राख्नुपर्ने बेलामा नउपाउँदा किसान उत्पादन घट्ने भन्दै चिन्तित बनेका छन् । माटोको उर्वरा शक्ति बढाउन डिएपीको प्रयोग गरिन्छ । रोपाइँपूर्व अर्थात् खेतमा धान रोप्नुअगाडि सो मल हालिन्छ भने रोपिएका बिरुवालाई सपार्न र हलक्क बनाउन युरियाको प्रयोग गरिन्छ । ती दुवै मल अन्न बालीका उत्पादकत्व बढाउन अति आवश्यक मानिन्छ ।