Shittalpati
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक गाभिने


पाल्पा, पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभिने क्रम बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरुको मर्जर/एक्वीजिसन नीति ल्याएसँगै गाभिने क्रम बढेको हो । यसैबिचमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडले पनि एक आपसमा गाभिने तयारी थालेका छन् । उनीहरु बिच एकआपसमा गाभ्न, गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ ।

समझदारी पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा मेगा बैंक नेपालको तर्फबाट अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरेका छन् । मर्जर पछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’ हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको प्रेस विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने पनि जनाइएको छ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १८.३१ अर्ब तथा मेगा बैंकको चुक्ता पूँजी १६.१२ अर्ब रहेको छ । दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने बैंकहरुले विश्वास लिएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update