पाल्पा, जिल्लाका गैरसरकारी र सहकारी संस्थाहरुले कर्मचारी भर्नामा चलाखी गरेको पाइएको छ । यहाँका केही प्रतिष्ठित कार्यालयहरुमा काम गरेर अनुभव संगालेका कर्मचारीहरुलाई नो अब्जेक्सन लेटर विना नै ति संस्थाहरुले भर्ना गर्ने गरेको पाइएको हो ।
कुनै पनि संस्थामा काम गरेको कर्मचारीले अन्य कार्यालयमा काम गर्न जाँदा नो अब्जेक्सन लेटर लिएर जानुपर्ने र सम्बन्धित कार्यालयले कुनै संस्थाबाट आएको खण्डमा नो अब्जेक्सन लेटर लिनुपर्ने प्रावधान रहे पनि यहाँ सञ्चालित गैरसरकारी र सहकारी संघसंस्थाहरुले त्यसको धज्जी उडाउदै नो अब्जेक्सन लेटर विना नै कर्माचारी भर्न गर्ने गरेका छन् । विशेषतः जिल्लामा सञ्चालित सहकारी संस्थाहरुले नो अब्जेक्सन लेटर विना नै कर्माचारी राख्ने गरेका छन् । उनीहरुले अन्य संस्थामा लामो समय कार्य अनुभव संगालेका कर्मचारीहरुलाई विभिन्न प्रलोभन देखाएर आफ्नो संस्थामा लैजाने गरेको पाइन्छ । खास गरी सञ्चार माध्यमको बजार व्यवस्थापकमा कार्यरत कर्मचारीहरुलाई सहकारीहरुले विभिन्न प्रलोभन देखाएर लैजाने गरेका छन् । उनीहरुले सञ्चार माध्यममा बजार व्यवस्थापकको लामो अनुभव बटुली सकेका कर्मचारीहरुलाई बजार व्यवस्थापकको रुपमा तान्ने गरेका हुन् । केही सहकारीहरुले कर्मचारीका लागि विज्ञापन खुला गर्ने र केहीले सिधंै कर्मचारीलाई आश्वासन दिएर लैजाने गरेका छन् । विज्ञापन खुला गर्ने सहकारीहरुले योग्य र सक्षम व्यक्तिलाई समेत पाखा लगाएर प्रतिष्ठित संस्थामा कार्य अनुभव गरेका कर्मचारीहरुलाई सिधंै भर्ना गर्ने गरेको पाइन्छ । कुनै पनि संस्थामा काम गर्दै गरेको कर्मचारीले कारणबस काम छोड्नु परेमा एक महिना अघि नै जानकारी गराउनुपर्ने र नो अब्जेक्सन लेटर लैजानुपर्ने व्यवस्था रहे पनि त्यसको बेवास्ता गर्ने गरेका छन् ।
कुनै पनि संस्थाले अन्य संस्थाबाट आएका कर्मचारीहरुसँग नो अब्जेक्सन लेटर नलिई भर्ना गर्नु गलत भएको जिल्ला बचत तथा ऋण सहकारी संस्था पाल्पाका अध्यक्षय जगदीश भट्टराईले बताए । उनले आफुलाई चित्त नबुझेमा एक संस्थाबाट अर्को संस्थामा कर्मचारीहरु जान पाउनु अधिकारको कुरा भए पनि संस्थाको नियम अनुसार प्रक्रिया पुरा गरेर जानुपर्ने बताए । अध्यक्ष भट्टराईले भने ‘कुनै पनि संस्थाले कर्मचारी भर्ना गर्दा अन्य संस्थाबाट काम छोडेर आएका कर्मचारीका हकमा नो अब्जेक्सन लेटर लिनुपर्छ, त्यो नभए सम्बन्धित संस्थालाई जानकारी गराउनुपर्छ ।’ पाल्पाका केही सहकारी संस्थाहरुले नो अब्जेक्सन लेटर विना नै कर्मचारी राख्ने गुनासो आएकाले त्यस्ता सहकारीहरुलाई संस्थाको मर्म र सिद्धान्त अनुसार चल्न भट्टराईले आग्रह गरे । कोरोना महामारीका बेला सञ्चार माध्यमले उचित सेवा सुविधा दिएरै कर्मचारीको व्यवस्थापन गर्दै आएका थिए । वातावरण सहज बन्दै गएपछि यहाँका केही सहकारीहरुले भने सुटुक्क कर्मचारी लैजाने गरेको जिल्लाका सञ्चार माध्यमहरु बताउँछन् । एक संस्थाले अर्को संस्थालाई जानकारी नगराई कर्मचारी लैजानु गलत रहेको पत्रकार प्रकाश नेपालले बताए । उनले कुनै पनि संस्था ऐन कानुन, विधि, प्रक्रिया र पद्दती अनुसार चल्नुपर्ने बताए । पत्रकार नेपालले संस्थागत रुपमा एक संस्थाले अर्को संस्थालाई कुनै पनि बाधा पुग्ने गरी काम गर्न नहुने बताए ।