रामचन्द्र रायमाझी
पाल्पा, तानसेनको सामाजिक, राजनीतिक र व्यवसायीक क्षेत्रमा सुपरिचित नाम हो बाबुरत्न शाक्य अर्थात् ‘बाबुदाइ’ । उनलाई सबैले ‘बाबुदाइ’ नामले चिन्ने गर्दछन् । साना हुन वा ठूला सबैका ‘बाबुदाइ’नामले परिचित उनी तानसेनको टक्सारटोलमा २०२६ साल वैशाख २८ गते बुबा शिवरत्न शाक्य र आमा चन्द्रकुमारी शाक्यको सुपुत्रको रुपमा जन्मिएका हुन् । बाबुदाइले सानै उमेरदेखि व्यवसायी, सामाजिक, राजनीतिक र विभिन्न संघसंस्थाको नेतृत्व सम्हाल्दै आएका छन् ।
२०४६ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिइ राजनीतिमा सक्रिय रहँदै आएका शाक्य २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालको तानसेन नगरपालिका ५ को वडा सदस्यमा अत्याधिक मतका साथ विजयी भएका थिए । सामाजिक क्षेत्रसँगसँगै राजनीतिक क्षेत्रमा समेत क्रियाशिल रहेका उनी २०५६ मा नेपाल तरुणदल तानसेनका नगर सभापति बने । उनी तरुणदलमा क्रियाशिल भएकै कारण २०६८ मा नेपाली काँग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय सदस्यमा निर्वाचित समेत भए । सामाजिक, राजनीतिक क्षेत्रमा क्रियाशिल रहेका शाक्य २०५९ देखि होटल व्यवसयाीमा संलग्न रहे । १२ वर्षको उमेर हुँदा बुबाको निधन भएपछि उनलाई घरको ठूलो जिम्मेवारी थपियो । घरको जेठो छोरा भएकै कारण पनि सात जनाको परिवारको जिम्मेवारी शाक्य माथि आयो । पढ्दै गरेका उनाई परिवारको जिम्मेवारी थपिएपछि भने निरन्तरता दिन गाह्रो भयो । जसोतसो गरी कक्षा १० सम्म अध्ययन गरेका उनी घरपरिवारका लागि भए पनि व्यवसायी गर्नुको विकल्प थिएन । ‘पढ्न मन थियो । तर, सानैमा बुबा बितेपछि आर्थिक अभावका कारण पढ्न सकिनँ,’ उनले भने ‘पढ्न छोडेपछि पैसा कमाउन होटल गरे ।’ शाक्यले होटल व्यवसायीसँगै राजनीति र सामाजिक कामलाई अगाडि बढाए । सानो होटलबाट व्यवसायीको सुरुवात गरेका बाबुदाइ निकै संघर्ष र मेहनत पछि क्याटरिङका मालिक समेत बने । उनी सबैको घर भान्छामा समेत पुगेका छन् । मर्दा पर्दा होस् वा धर्म गर्दा उनी सबैको घरमा पुग्छन् र सहयोग गर्छन् ।
सामाजिक तथा आध्यात्मिक काममा पनि उनले नै अगुवाई गर्दै आएका छन् । उनको क्याटरिङ सेवाबाट वडावासी मात्रै नभई तानसेनवासी लाभान्वित भएका छन् । जो कोहीका लागि पनि उनी अति नै सजिला छन् । बोलाउने बित्तिकै उनी जहाँ पनि जान सक्छन् । दुख, सुख बुझेको व्यक्ति नै जनताको सेवक बन्न सक्छ भन्ने विचार उनको छ । सोही विचारलाई आत्मसाथ गर्दै शाक्यले २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट तानसेन ३ को वडा अध्यक्षमा उम्मेदवारी समेत दिए । उनले उम्मेदवारी दिर्दै गर्दा केही राजनीतिक दल र व्यक्तिहरुले एसएलसी पास समेत नगरेको र भात पकाउने भनेर अपमान गरे भने केहीले दुःख भोगेको र संघर्ष गरेको व्यक्तिले केही गर्छ भनि उनलाई ढाडस समेत दिए । उनलाई निर्वाचन जित्न निकै मुस्किल थियो । विगतमा नेकपा एमालेले जित हासिल गर्दै आएको वडा भएकाले पनि उनलाई जित्न चुनौति रहेको थियो । तर शाक्य कुनै पनि अवस्थामा हतोसाहित नभई निर्वाचनको मैदानमा उत्रिए । उनी प्रत्येक मतदाताको घर–घरमा पुगेर दिल जितेर मत माग्दथे । नेताहरुको मन जित्न नसके पनि बाबुदाइले जनताको मन भने जित्न सफल भए । अन्ततः उनी अत्याधिक मतका साथ वडा अध्यक्षमा विजयी भए ।
२० वर्षसम्म होटल व्यवसायीको काम गरेका उनी अहिले वडाध्यक्षको भूमिकामा छन् । ‘मलाई वडा बनाउने जिम्मेवारी आएको छ,’ उनले भने, ‘वडाको विकास र समृद्धिका लागि नमुना काम गर्छु । खानेपानीको सहज व्यवस्थापन, सडक ग्राभेल र स्तरोन्नति गरी हिउँद÷बर्खा सरर गाडी हिँड्ने बाटो बनाउँछु ।’ वडाका सबै नागरिकलाई स्वास्थ्य सेवा, स्कुलको पढाइमा गुणस्तर वृद्धि, युवालाई ढाका र करुवा उद्यमबाट स्वरोजगार बनाउने गरी समग्र वडाको काम गरी पाँच वर्षभित्रमा नमुना वडा बनाउने अठोट रहेको उनले सुनाए । ‘यो सुनौलो मौकामा काम गरेर देखाउने हो,’ उनले भने, ‘वडावासीलाई खुसी पार्ने गरी काम गर्छु ।’ शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकाससहितको काम गरेर फेरि पनि जनताले खोज्ने गरी वडामा योगदान गर्ने उनले बताए । वडाध्यक्ष शाक्यले आँखा अस्पतालसँग समन्वय गरी आँखाको शल्यक्रिया गर्नुपर्ने बालकालिका र जेष्ठ नागरिकहरुको लागि निःशुल्क गर्ने समेत बताएका छन् ।