रमेश विश्वकर्मा
गुल्मी, गुल्मीको रेसुंगा नगरपालिकाले जिल्लामै पहिलो पटक डायलसिस मेसिन खरिद गरि गुल्मी अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । नगरप्रमुख खिलध्वज पन्थीले पछिल्लो समय मृगौलाका बिरामीहरु बढ्दै गइरहेको भन्दै बिरामीहरुको सहजताका लागि जिल्लामै डायलसिस सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरेको बताए ।
‘कोभिड महामहारी थियो । जिल्ला लकडाउनले ठप्प जस्तै थियो । जिल्ला बाहिर जान सवारी पासको आवश्यकता पथ्र्यो ।’–नगरप्रमुख पन्थीले भने,–‘त्यतिबेला बिरामीहरुको लागि सवारी पास उपलब्ध गराउन आफै सक्रिय भएर लागें । ती अधिकांश बिरामी मृगौलाका पनि थिए ।’ कोभिड महामारीमा जिल्लामा डायलसिसको सुविधा नहुँदा धेरै बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई आफुले नजिकबाट नियालेको बताउँदै आफू निर्वाचित भएपछि डायलसिसका लागि पाल्पा, वुटवल, काठमाडांै जान नपरोस् भनेर गुल्मी अस्पतालबाट नै डायलसिस सेवा उपलब्ध गराउने उद्देश्यले डायलसिस मेसिन खरिद गरि हस्तान्तरण गर्ने महत्वपूर्ण निर्णय गरेको बताए । नगरप्रमुख पन्थीले यो निणर्य बताइरहँदा सहभागी पत्रकारहरुले जिल्लामै पहिलो पटक उदाहरणीय निर्णय गरेको भन्दै खुलेरै धन्यवाद दिएका थिए ।
आफू जराधार तहबाट जनताका साना–साना समस्याहरु बुझेर आएको उल्लेख गर्दै नगरप्रमुख पन्थीले अब बनाउने बजेट, नीति तथा कार्यक्रममा यसलाई समावेश गरि छिट्टै कार्यान्वयन गर्ने बताए । यो सेवा प्रवाहका लागि गुल्मी अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.उत्तम पच्यासँग समन्वय समेत गरेको बताए । यसका लागि जनशक्ति अस्पतालले तयार गर्नेछ । डायलासिस मेसिन नगरपालिकाले उपलब्ध गराउने नगरप्रमुख पन्थीले बताए ।
आफुहरुले स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै नगरप्रमुख पन्थीले नगरपालिका भित्रका नागरिकको मोतीया विन्दुको निःशुल्क शल्यक्रियाका लागि व्यवस्था मिलाउने बताए । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घाससँगको समन्वयमा नगरपालिकाले मोतीय विन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीको निःशुल्क शल्यक्रियाका लागि आर्थिक सहयोग उपलब्ध गराउने बताए ।
यस्तै कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि पशुहरुमा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गर्ने बताए । नगरप्रमुख पन्थीका अनुसार पञ्जीकरणका सेवा समेत घरघरमा उपलब्ध गराइने भएको छ । कुनै पनि नगरबासीको घरमा जन्म, मृत्यु लगायतका घटनामा घरमै पुगेर प्रमाणपत्र उपलब्ध गराइने निर्णय गरेको बताए ।
नगरकार्यपालिकाको पहिलो बैठकले विभिन्न विषयगत समितिमा संयोजक तथा सदस्यहरु पनि चयन गरेको छ । श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति संयोजकमा नगरप्रमुख खिलध्वज पन्थी रहेका छन् । नीति बजेट तथा कार्यक्रम तर्जुमा समिति, राजश्व परामर्श समिति, अनुगमन तथा मूल्याङ्कन समिति संयोजकमा उपप्रमुख अमृतादेवी कुँवर रहेकी छन् ।
यस्तै आर्थिक विकास समितिमा रामबहादुर बस्नेत, सामाजिक विकास समिति संयोजकमा लिलाधर आचार्य, पूर्वाधार विकास समिति संयोजकमा रामप्रसाद पन्थी, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजकमा गनबहादुर गुरुङ्ग र मानव संशाधन तथा सुशासन समिति संयोजकमा हुमबहादुर बस्नेत रहेका छन् । बैठकले नगरपालिकाको प्रवक्तामा वडा नम्बर ७ का वडाअध्यक्ष रामप्रसाद पन्थी (राम्जी)लाई जिम्मेवारी प्रदान गरेको छ ।
त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले रेसुंगा नगरपालिकाका १४ वटै वडालाई रेसुंगा सर्किट निर्माण गरि जोड्ने बताउँदै पर्यटन पूर्वाधारमा लगानी बढाउने उल्लेख गरे । उनले ग्रीनसिटी तथा स्माट सिटिको अवधारणालाई मूर्त रुप दिनका लागि शहरलाई स्वच्छ र हराभरा बनाउन फोहोरमैला व्यवस्थपन केन्द्र निर्माण गर्ने पहिलो निर्णय भएको जानकारी दिए । निर्माणधिन भौतिक पूर्वाधारका योजना सम्पन्न गर्दै वडा कार्यालय जोड्ने सडक क्रमशः कालोपत्रे गर्ने बताए ।