हालै सम्पन्न स्थानीय तहको निर्वाचन सकेर विजेताहरुले अविर जात्रा गरिरहेकै बेला प्रदेश र संघीय क्षेत्रको निर्वाचनको तयारी शुरु भएको छ । निर्वाचन आयोगले आगामी कार्तिक र मंसिर भित्रमा निर्वाचन सम्पन्न गर्न सक्नेगरी व्यवस्थापन मिलाउने कार्यमा सरकारलाई सुझाव पेश गरे लगत्तै फेरि निर्वाचनका तयारीका लागि दलहरुको सक्रियता बढेको महशुस गरिएको छ । आवधिक निर्वाचन लोकतन्त्रका प्राण हुन्, तर निर्वाचनहरु खर्चिलो र भड्किलो हुँदै गएपछि इमानदार नेता र कार्यकर्ताका लागि अत्यन्तै अमिलो भएको होकि भन्ने महशुस भएको छ । निर्वाचन सकिएको महिनौ हुँदा पनि निर्वाचित जनप्रतिनिधिहरु अविर जात्रामै रमाउने, वार्षिक नीति कार्यक्रम र बजेट निर्माणका कार्यमा ध्यान नदिने प्रवृतिको अन्त्य हुनुपर्दछ । पाँच वर्षका लागि हामी निर्वाचित भएका हौं, पाँच वर्षमा धेरै कार्य गछौं भन्ने मनसायका साथ ढिला गरिएको हो भने त्यो कार्य गलत हो, यसलाई रोक्नुपर्छ ।
विजयी यात्रा र अविर जात्राले जनताको आवश्यकतालाई परिपूर्ति गर्दैन, विकास र टोल, वडा अनि गाउँ शहरका समस्याहरुलाई सम्वोधन गरेको नीति र कार्यक्रमले छुन सक्यो भने मात्र विजयी यात्राको सार्थकता रहने छ । उत्सवलाई विकासका अधुरा कामसंग जोडौ अनि मात्र असल जनप्रतिनिधि भएको ठहरिन्छ । बजेट बन्छ, तर विना कसरत, आवश्यकताको पहिचान नगरी बन्ने नीति र कार्यक्रमले सार्थकता प्राप्त गर्न सक्दैन । जनताले नयाँ जनप्रतिनिधिबाट नयाँ र विकासका श्रृजनात्मक शैली र चमत्कारिताको पर्खाईलाई गम्भीर भएर दृष्टीगत गरिरहेका छन् । त्यसकारण हामी र हाम्रा विजयी यात्रा अब अविर जात्राको लागि भन्दा पनि जनताको मन यात्राको लागि हो भन्ने कुराको ध्यान जाओस् । जताततै अविर जात्रा र खादा पहिरनले जनताका भावनालाई सम्वोधन गर्दैनन् भन्ने कुराको सबै जनप्रतिनिधिमा चेतना भया ।