Shittalpati
पुनःमतदाता नामावली संकलन गरिदैं

पाल्पा, निर्वाचन आयोगले पुनः मतदाता नामावली संकलन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनमा केही व्यक्तिहरुको नाम छुटेको गुनासो आएपछि आयोगले संघ र प्रदेशको निर्वाचनमा उनीहरुलाई सहभागी गराउन पुनः मतदाता नामाली संकलन गर्ने भएको हो । प्रतिनिधि र प्रदेशसभा सदस्यको पदावधि मंसिर २२ गतेसम्म मात्रै रहेकाले ति निर्वाचनका लागि आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने जनाएको छ ।

स्थानीय तहको निर्वाचन अघि मंसिरमा स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्दा पनि नाम छुटेको गुनासो आएपछि आयोगले पुनः नामावली संकलन गर्न लागेको हो । मतदाता नामावली आफू बसेकै जिल्लाबाट भर्न सकिने आयोगले जनाएको छ । उक्त विवरण स्थायी बसोबास भएको जिल्लामा पठाउन लागेको हो । फोटोसहितको नामावली जिल्ला प्रशासन, इलाका प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा भर्न सकिने आयोगले जनाएको छ । निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन गर्न नमिल्ने कानुनी व्यवस्था भएकाले आयोगले असार १ देखि नै नामावली संकलन गर्न लागेको हो । आयोगले कात्तिक अन्तिमदेखि मंसिर पहिलो साता निर्वाचन घोषणा गर्नुपर्ने सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । ०७४ मा पनि स्थानीयको निर्वाचन भएपछि प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली संकलन गरिएको थियो । २०७४ मंसिर ११ गते पहिलो चरणमा हिमाली तथा उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा र मंसिर २१ गते बाँकी जिल्लामा गरी दुई चरणमा प्रतिनिधि तथा प्रदेश सभाका लागि मतदान भएका थिए । विगतमा दुई चरणमा सम्पन्न भएको आमनिर्वाचन यस पटक कति चरणमा गर्ने भन्ने विषयमा आयोग छलफलमै छ । तर समयमै निर्वाचन गराउन आयोगले तयारी थालिसकेको छ । निर्वाचन हुन अब लगभग छ महिना बाँकी छ । स्थानीय निर्वाचनका क्रममा देखिएका त्रुटि सुधारतर्फ निर्वाचन आयोग लागेको छ । छ महिनाको समयावधिका क्रममा मतदाता नामावलीमा देखिएका त्रुटिमा सुधार हुनेछ । नयाँ मतदाता थपिने छन् । मतदान स्थलको पुर्नवलोकन तथा सस्तो दरमा निर्वाचन सामग्री खरिद गर्न पर्याप्त समय होस् भनेर नै अहिलेदेखि आन्तरिक तयारी थालिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update