मदन देउराली
परापूर्वकालदेखि संस्कृतिको धनि नेवार समुदायले ऋतु परिवर्तनसँगै विभिन्न खाले जात्रा र पर्वहरु मनाउँदै आइरहेका छन् । नेवार समुदाय आफै पनि चाडपर्व जात्राको लागि प्रख्यात छ । यिनीहरुको हरेक पर्वहरु विशेष पौराणिक र साँस्कृतिक महत्वका हुन्छन् । काठमाडांै उपत्यकाका आदिवासी नेवा समुदायका विभिन्न संस्कृतिहरु मध्ये एक महत्वपूर्ण पर्व हो सिथिनख । यो पर्व काठमाडांैै उपत्यका, पनौति तथा काठमाडांैै उपत्यकाबाट विभिन्न कालखण्डमा विभिन्न कारणले देशका अन्य भागमा स्थापित भएका नेवारहरुले जेष्ठ शुक्ल पक्षका दिन मनाउने गर्दछन् । हिन्दूहरुका आराध्यदेव देवादिदेव भगवान शिवका जेष्ठ पुत्र कार्तिकेय जन्मेको ज्येष्ठ शुक्लपक्ष षष्ठिलाई कुमार षष्ठि भनिन्छ तथा यही दिनलाई कुमारको जन्मदिन भनेर भनिन्छ तथा सिथिनख मनाइन्छ । शिवपुराणमा कुमारलाई शिव पुत्र मानिन्छ । यिनी गंगाबाट जन्म भएको भनिन्छ । किनकी उनी गंगा किनारमा छोडिएका थिए । छ जना ऋषि पत्नी कृतिकाहरुले उनलाई प्राप्त गरी पालेकाले सबै आमाहरु आफु प्रति आकर्षित भएको देखेर उनले छ वटा टाउको बनाएका थिए भनिन्छ । कुमारलाई स्कण्ड, षडानन, ब्रÞमण्य र कार्तिकेय पनि भनिन्छ । कुमारलाई वर्षाको देवता अर्थात् जल देवताको रुपमा पनि मानिएको छ । सिथिनखलाई नेवारहरुले बोलिचालीको भाषामा सिन्ख भन्दछन् । सिन्ख भनेको विशेष गरी पानीको मुहानका साथसाथै आफनो आगन बहाल टोल सफा गर्ने दिन हो । सिथिनख पर्वमा भक्तजनहरुले क्षेत्रपालको रुपमा कुमारको पूजा गर्नुका साथै विभिन्न देवी देवताहरुको पनि पूजाआजा पनि गर्दछन् । काठमाडांै उपत्यकाको भित्री भाग जैसीदेवलमा अवस्थित सिथिदेय अर्थात् कुमारको मूर्तिलाई विधिवत तरिकाले पूजा अर्चना गरिन्छ तथा सिथिनखको भोलिपल्ट मूर्तिलाई खटमा राखि अद्यापि जात्रा गर्ने चलन पनि रहेको छ ।
परम्परागत रुपमा सिथिनखलाई वर्षा यामको पहिलो दिन भनेर मनाइन्छ । नेवार जातिले गृष्म ऋतुको अन्त्य र वर्षा ऋतुको आगमनसँगै सिथिनख पर्व मनाउने गर्दछन् । इतिहासकार र संस्कृति विज्ञहरुका अनुसार यो पर्व कहाँबाट शुरु भयो भनेर खासै तोकिएको छैन । गृष्म ऋतुको प्रचण्ड घामको कारण उपत्यकामा धेरै जग्गा जमिन सुख्खा हुनुका साथै धेरैजसो पानीको मुहानहरु पनि सुकेका हुन्छन् । मनसुन शुरु हुनु भन्दा अगाडि हुरी बतासको मौसम भएकाले धूलो उड्ने तथा भएका पानीका श्रोतहरु पनि फोहर हुने गर्दछ । वर्षा लागे पछि धान रोप्ने चटारो हुन्छ यता उता सरसफाइमा उचित ध्यान दिन नसक्ने भएकाले टोल छरछिमेक सबै मिलि आफनो घर आगन वरिपरि इनार धारा कुवा पोखरी ढुगेधारा पानीको मूल वरपर र पानीका मुहानहरु तथा वरिपरिका वातावरण सरसफाई गर्ने गर्दछन् । यसका साथै देवी देवताका मन्दिर, देवालयहरु पनि सरसफाई मर्मत गरी पूजा गरी उत्सवका रुपमा मनाउने चलन रहेको छ । वास्तवमा मनसूनलाइ स्वागत गर्न नै कुमारको जन्मदिन मनाइएको भनिन्छ । यसरी पानी र वातावरणसँग सम्बन्धित पर्व सिथिनखलाई प्रत्येक वर्ष नेवारहरुले मनाउँदै आएका छन् । यसरी पानीको श्रोत सरसफाइ गरिएमा राम्रो वर्षा हुन्छ तथा राम्रो फलको उत्पादन हुन्छ भन्ने विश्वास पनि कायमै छ । यसका साथै सिथिनखलाई वीउ छर्ने खास समयको रुपमा पनि मानिन्छ । त्यसबेला आजको जस्तो मौसम नाप्ने यन्त्र नभएकाले घरको विभिन्न ठाउँहरुमा कागतको फिरफिरे बनाएर पानी पर्ने अनुमान पनि गर्दथे । काठमाडौ उपत्यकाका खेतहरु रोपाइका लागि अत्यन्तै उर्वर भूमिको रुपमा मानिन्छ । पहिला पहिला उपत्यकाका नेवा समुदाय भित्र ९० प्रतिशत नेवारहरु खेती लाई नै आफनो मूल कामको रुपमा अपनाउँदै आएका थिए र उनीहरुको आम्दानीको श्रोत पनि खेतीपाती नै थियो । मनसूनको आगमनसँगै धूमधामकासाथ रोपाई गरिन्छ । रोपाइलाई सिनाज्या भन्ने गरिन्छ । सिनाज्या भनेको मरिमेटी काम गर्ने हो अर्थात् रोपाइको दिन मरिमेटी काम गर्ने भनेर मान्दछन् । किनकी यसरी मरिमेटी काम गरेमा वर्षदिनलाई आम्दानीको श्रोत बनिरहन्छ भन्ने विश्वास मान्दछन् । यस दिन किसानले खेतबारीमा खास काम गर्दैनन तर एकाविहान घरको रहेको गाइ बस्तुको गोवर मल तथा कम्पोष्ट मललाई खेतबारीमा पु¥याउने गर्दछन् । यस दिन खेतको माटोलाई चोट पु¥याउन हँुदैन भन्ने मान्यता पनि रही आएको छ । रोपाई शुरु गर्नु भन्दा अगाडि आफनो शरिरलाई चाहिने आवश्यक पौष्टिक तत्व ग्रहण गर्न पर्वको रुपमा पनि सिथिनख पर्वलाई मान्दै आएको भनिन्छ । हुन त सबै नेवारहरुले सिथिनख मनाउने भन्ने पनि छैन कतिले मनाउँछन् कतिले मनाउँदैनन् । फेरि सबैको कूलपूजा पनि फरक फरक समयमा पनि हुने गर्दछ ।
धेरै को बुझाइ छ कि नेवारहरुको जात्रा पर्व भन्ने बित्तिकै रमाइलो गर्ने अनि भोज खाने भनेर । तर नेवारहरुका हरेक जात्रा पर्व विशेष पौराणिक र सास्कृतिक महत्वका हुन्छन् । नेवार जातिले विभिन्न पर्वहरुमा मौसम अनुसार परिकार बनाएर खाने गर्दछन् । समय अनुसार चाडपर्व र त्यही अनुसारको परिकार खाने चलन छ । पकाउने परिकारको पनि छ्ुट्टै पौराणिक महत्वका हुन्छन् । गर्मी मौसमलाई ध्यान दिई नेवार समुदायले सिथिनखका दिन सजिलो पचाउन सकिने र स्वास्थ्यलाई फाइदा पु¥याउने परिकारको रुपमा बारा बनाएर खाने चलन छ । यसैले पनि यस पर्वलाई बारा खाने र खुवाउने पर्वको रुपमा लिइन्छ । मासलाई पिसेर विभिन्न स्वाद अनुसार बनाइएको एक प्रकारको रोटी हो बारा । त्यस्तै गरी चामलको रोटी जस्मा अण्डा तथा मसिनो पारी बनाइएको किमा मासु राखी बनाइएको तथा साधा चामलको रोटी चटामरीका साथै अन्य विभिन्न परिकारहरु बनाएर खाने गर्दछन् । सिथिनखको दिन शुद्ध भई कुमार, कुलदेवता र नव दुर्गा भवानी र शक्तिपीठहरुको पूजा गर्दछन् । भगवान कुमारको छ वटा शीर भएकाले यो चाडमा छ प्रकारका खाद्य वस्तु बनाई पूजा गर्नु पर्छ भनिन्छ । त्यस्तै गरी षष्ठि अनुसार छ थरिका पूजा सामग्रीहरुको प्राधान्य छ । छ वटा पात भएको कमलको फूल, मास, मुगी, केराउ, चामलको पिठो, गहँुको रोटी आदि व्यञ्जनका साथ सिथि देवतको पूजा गर्दछन् । संस्कृतविद्हरु अनुसार सिथि भन्ने शब्द संस्कृत शब्द षष्ठिबाट आएको भनिन्छ । नेवारहरु कुनै मठ मन्दिरमा जानु अगाडि आफ्नो घरको मूल ढोकाको अगाडि सानो पूजा गरे पछि मात्र जान्छन् । यो भनेको कुमारलाई पूजा गरेको भनिन्छ । जुन कुमारले आफ्ना पिता भगवान शिवबाट वरदान पाएका थिए ।
तानसेनमा रहेका नेवारहरु पनि विभिन्न कालखण्डमा काठमाडांैै उपत्यकाबाट तानसेन आएर स्थापित भएको हुनाले आफुहरुले त्यहाँ गरिराखेका करिव करिव सबैजसो संस्कारहरु तानसेनमा पनि अद्यापि गर्दै आइरहेका छन् । हुन त कतिपय कुराहरु ठयाक्कै काठमाडांै उपत्यकासँग नमिले पनि सानै रुपमा भए पनि गर्दै आएको पाइन्छ । काठमाडांै उपत्यकामा खेतिपाति गर्ने चलन छ तर तानसेनका नेवारहरु व्यापार व्यवसाय गर्दै आइरहेका छन् । सिथिनखको दिन शुद्ध भई कुमारको मूर्ति स्थापना गर्दछन् । कसैकसैले कुमारसँग भिमसेनको मूर्ति पनिसँगै राखि कूल पूजा गर्दछन् । यसरी भिमसेनको मूर्ति राख्नुको उद्देश्य पनि व्यापार व्यवसायमा सदा मद्दत गरिरहुन भनेर मान्दछन् । यस दिन कतिपयले आफ्नो परिवारको संख्या हेरेर बोका, हाँस कुखुरा बलि दिने चलन थियो तर आजकाल सबैजसोले बलि दिने चलन छोडदै आइरहेको पनि देखिन्छ । पूजाको समाप्ति पछि आफना चेलीवेटीहरु बोलाई सकल परिवार बसी भोज खाने गर्दछन् । हुन त तानसेन आएका नेवारहरुले खेतिपाति गर्दैनन् तर पनि पानीको मुहान जहिले पनि सफा गरि राख्नु पर्छ भन्ने मान्यताले पहिला पहिला टक्सारका नेवारहरु यस दिन नजिकैको होलन्दी, पहराधारा, काजी धारा, सिन्दुरे धारा, सालिकराम धाराहरुमा गई पानीको मुहान सफा गर्ने गरेको अग्रज दाजु मंगल प्रसाद बज्राचार्य बताउनु हुन्छ । तर अहिले यो चलन हराइसकेको छ । अस्तु !
(लेखक देउराली सास्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)