Shittalpati
अहिलेबाटै विपद्को तयारी गरौं

सामान्यतः जेठ ३० गते अर्थात जुन १३ देखि नेपालमा मनसुन सुरु हुन्छ भन्ने मान्यता रहेको छ । तर जेठकै पहिलो हप्तादेखि नै देशका केही ठाउँहरुमा वर्षा भइरहेको छ । यो वर्षायाम मध्य भदौसम्म रहनेछ । मौसमी चक्रअनुसार वर्षातले किसानलाई खेतीपाती गर्न तथा वातावरणलाई हरियाली बनाउन सहयोग पुग्छ । यो नियमित चक्र मात्र होइन, प्रकृतिको आशीर्वाद पनि हो । खेतीका लागि प्रत्येक थोपा वर्षा अमृत हो । तर अत्यधिक वर्षाले सिर्जना गर्ने विपद् व्यवस्थापनको तयारी नहुँदा यसले ल्याउने जोखिम पनि उत्तिकै हुन्छ । हरेक  वर्ष यो अवधिमा बाढी, पहिरो तथा अन्य जलजन्य विपद्का घटना हुने र ठूलो मात्रामा जनधनको क्षति हुने गर्छ ।

पहाडमा बाढी र तराईमा डुबानले बर्सेनि ठूलो संख्यामा जनधनको क्षति गर्छ । प्राकृतिक विपत्ति रोक्न नसके पनि सरकारले पूर्वतयारी गरे क्षति कम गर्न सकिन्छ तर, पूर्वतयारीको काम कागज र बोलीमा मात्रै सीमित हुँदा यसबाट ठूलो धनजनको क्षति नेपालीले व्यहोर्न बाध्य छन् । प्राकृतिक विपद्का हिसाबले नेपाल विश्वको अग्र सूचीमा आउँछ । भूकम्पीय जोखिमको हिसाबले नेपाल विश्वको ११ औँ स्थानमा र बाढी पहिरोको जोखिमको हिसाबले ३० औँ स्थानमा पर्छ । यो सन्दर्भमा नेपालले सम्भावित संकट सम्बोधनका लागि गम्भीर हुन आवश्यक छ । त्यसो त, विपद् पूर्वसूचना दिएर आउँदैन । यसका लागि पर्याप्त पूर्वतयारी तथा उत्थानशीलता जरुरी हुन्छ । नेपालले विपद् व्यवस्थापन तथा पूर्वतयारीमा केही राम्रा काम गरेको देखिन्छ । तर अझै पनि मनसुनका कारण हुने मानवीय क्षति कम गर्न सकिएको छैन र यो हरेक वर्ष बढ्दो क्रममा छ । राज्यका तीनै तहका सरकारले यो विषयमा थप सहकार्य गर्न सके क्षति घटाउन सकिन्छ । विपद् जस्तो संवेदनशील विषय सरकारको प्राथमिकतामा पर्नुपर्छ । बर्खाको समयमा कति बेला कहाँ के हुन्छ कसैलाई थाहा हुँदैन । तर विपद् आउनुपूर्व नै विशेष सावधानीका उपायहरु अवलम्बन गर्न सकियो भने केही हदसम्म भए पनि क्षति हुनबाट बचाउन सकिन्छ । तसर्थ त्यसतर्फ सरकार र सम्बन्धित निकायले  अहिलेबाटै विपद्को तयारी गर्न ढिलाई गर्नु हुँदैनन् ।

प्रकाशित मिति: बुधबार, जेठ ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update