Shittalpati
आवधिक योजना बनाउँदै रेसुङ्गा नगर सरकार

हाम्रा संवाददाता
गुल्मी, देश संघीय व्यवस्थामा गएपछि दोस्रो निर्वाचित स्थानीय सरकारले काम थालेका छन् । नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरे लगत्तै सस्तो लोकप्रियता बढाउने खालका निर्णय गरिहेका छन् । स्थानीय सरकार जनता नजिकको सरकार पनि हो । जनतालाई नजिकबाट सुन्ने, देख्ने र हेर्ने स्थानीय सरकार नै हो ।

बितेका पाँच वर्षमा कतिपय स्थानीय सरकारले विकास निर्माणका काम पनि गरेका छन् । कतिपय विवादित पनि भएका छन् । पाँच वर्षमा केही स्थानीय सरकारले योजना बनाएर काम गरे भने केहीले विना योजना नै काम गरे । अहिले स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरुले धामाधम थरिथरीका निर्णयहरु सार्वजनिक गरिरहेका बेला गुल्मीको रेसुङ्गा नगरपालिका भने सुरुवातमै आवधिक योजना बनाउन थालेको छ । नगरको दीगो विकासका लागि नवनिर्वाचित जनप्रतिनिधिहरुले आवधिक योजना बनाएर मात्र विकास निर्माण र योजनाका कार्यक्रमहरु अगाडि बढाउने बताएका छन् । उनीहरुले आवधिक योजनाका लागि छलफल चलाएका छन् । छलफलबाट आएका विषयहरुलाई आवधिक योजनामा समावेश गर्ने गरी उनीहरु अगाडि बढेका हुन् ।

दीगो विकासको अवधारणा अनुसार आफुहरु अगाडि बढेको नगरप्रमुख खिलध्वज पन्थीले बताए । उनले नगरका योजनाहरुलाई आवधिक योजनमा समावेश गर्ने गरी नगरमा गोष्ठी, छलफल चलाइएको बताए । उनले भने ‘आगामी पाँच वर्षमा के–के गर्ने भन्ने विषय योजनामा समावेश गरिने छ, र सोही अनुसार नगरको विकासका गतिविधि अगाडि बढ्ने छन् ।’ नगरप्रमुख पन्थीले प्राकृतिक क्षयलाई रोक्ने गरी विकासका गतिविधि सञ्चालन गरिने बताए । नगरपालिकालाई सप्तरङ्गी विकास गर्ने अठोटका साथ आफुहरु आएको भन्दै उनले आफ्नो कार्यकालमा योजनावद्ध रुपमा अगाडि बढ्ने बताए । नगर प्रमुख पन्थीले आफ्ना योजना र कार्यमार्फत नगरवासीहरुलाई सुशासन र विकासको अनुभूति दिने उद्घोष गरे । पन्थीले भने, ‘रेसुङ्गा नगरपालिकाबाट हुने बसाइसराई रोक्न चाहान्छौं । यहाँका हरेक स्थानमा पुग्दा बसौं–बसांंै लाग्ने गरी सुन्दर नगरपालिका बनाउन चाहान्छौं ।’ नगरप्रमुख पन्थीले विकासात्मक गतिविधिमा हुने गुणस्तर कायम गर्न कुनै पनि प्रकारको सम्झौता नगर्ने समेत बताए । उनले यस वर्ष जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसलाई भर्ना वर्षको रुपमा लिएर सहयोग पु¥याउने बताए । उनले भने ‘बहुमुखी क्याम्पसमा पूर्ववर्ती रुपमा विद्यार्थीहरुको भर्नादर वृद्धिका लागि हामी पहल गछौं ।’ बुटवल–सालझण्डी–पटौटी–तम्घास सडक खण्ड जिल्लाकै विकासको मेरुदण्डको रुपमा रहेको उल्लेख गर्दै उनले यसलाई स्तरोन्नती गर्नका लागि आफु लागि परेको दावी गरे । आवधिक योजनाका लागि दुई दिनसम्म अन्तक्र्रिया तथा गोष्ठी भएको छ । गोष्ठीमा रेसुङ्गा नगरपालिकामा सञ्चालन गरिने पञ्चवर्षिय योजना निर्माणका सन्दर्भमा व्यापक छलफल गरिएको थियो । नगरपालिकालाई आगामी पाँच वर्षमा कुन अवस्थामा विकास गर्ने भन्ने विषयमा योजनावद्ध रुपमा छलफल भएको हो । विज्ञको सहभागितामा योजनाका लागि छलफल गरिएको हो ।

आवधिक योजनामा प्राथमिकताका साथ समेटिनुपर्ने सामाजिक विकास, आर्थिक विकास, वन तथा वातावरण, पर्यटन लगायतका विषयमा नगरवासीबाट सुझाव लिइएको छ । पूर्वाधार विकास, सामाजिक विकास, कृषि विकास लगायतका योजना सम्बन्धी छलफल एवं सल्लाह, सुझावका आधारमा अल्पकालिन र दीर्घकालिन योजनाको प्राथमिकीकरण गर्दै आवधिक योजनालाई कार्यपालिका बैठकबाट अन्तिम टुंगो लगाइने नगर प्रमुख पन्थीले बताए । छलफलमा जनप्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update