Shittalpati
पाल्पाका पाँच पालिकामा कार्यपालिका सदस्य निर्वाचित

कृष्ण पोखरेल
पाल्पा, जिल्लाका पाँच पालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका छन् । यहाँका तानसेन नगरपालिका, रैनादेवी हछरा गाउँपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका र माथागढी गाउँपालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका हुन् । तानसेन नगरपालिकामा ८ जना कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट लक्ष्मी नेपाल, सविता भट्टराई, पुजा रावल, दिनेश गन्धर्व र अनुराम दाम, नेकपा माओवादी केन्द्रबाट मञ्जु विक र लक्ष्मी विक, नेकपा एकिकृत समाजवादीका तर्फबाट संजय घले कार्यपालिका सदस्य निर्वाचित भएको नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष मोहन प्रसाद श्रेष्ठले जानकारी दिए । २४ सदस्यीय कार्यपालिका रहेको तानसेन नगरपालिकामा नेपाली काँग्रेसबाट १७ जना, नेकपा माओवादी केन्द्रबाट २ जना, नेकपा एमाले बाट ४ जना र नेकपा एसबाट १ जना रहेका छन् । १४ वडा रहेको तानसेन नगरपालिकामा नगर प्रमुख , उप प्रमुख सहित ८ वटा वडा अध्यक्षमा नेपाली काँग्रेस, दुई वटामा माओवादी र ४ वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

यस्तै रैनादेवी छहरा गाउँपालिकाको १६ सदस्यीय कार्यपालिका पुरा भएको छ । निर्वाचनमा ६ जना कार्यपालिका निर्विरोध निर्वाचित भएपछी १६ सदस्यीय कार्यपालिका पुरा भएको हो । निर्वाचित कार्यपालिका सदस्यहरुमा गठबन्धनबाटै नेपाली काँग्रेसका ३ जना, नेकपा माओवादी केन्द्रका २ जना र नेकपा एकिकृत समाजवादीका १ जना रहेका छन् । नेपाली काँग्रेसबाट लक्ष्मण हिताङ्ग, गिता राना र टुकमाया विक, नेकपा माओवादी केन्द्रबाट लक्ष्मी कुमाल र कविता खनाल, नेकपा एसबाट महेश बराल निर्वाचित भएको पालिका अध्यक्ष रुकमागत भट्टराईले बताए ।

१६ सदस्यीय कार्यपालिका सदस्यमा नेपाली काँग्रेसबाट ८, नेकपा माओवादीबाट ६, नेकपा एमालेबाट २ र नेकपा एसबाट १ जना रहेका छन् । ८ वटा वडा रहेको रैनादेवी छहरा गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष सहित ४ वटा वडा अध्यक्ष, माओवादी केन्द्रले उपाध्यक्ष सहित २ वटा वडा र नेकपा एमालेले २ वटा वडा अध्यक्ष विजय हासिल गरेको थियो ।

माथागढी गाउँपालिकामा पनि कार्यपालिका सदस्य निर्वाचित भएका छन् । निर्वाचित कार्यपालिका सदस्यहरुमा वडा ३ बाट लिलासरा चिदी, वडा १ तुल्सा न्यौपाने, वडा ४ बाट रुकुमी सुनारी, वडा २ बाट मंगली कुमाल रहेका छन् । वडा ७ बाट भिमकुमारी परियार, पूर्णबहादुर सुनार रहेको गाउँपालिकाका अध्यक्ष यम चिदीले बताए । बगनासकाली गाउँपालिकामा पनि कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुने कार्यपालिका सदस्यहरुमा वडा २ बाट गीता रेग्मी, वडा ५ बाट खुमादेवी भट्टराई र वडा ८ बाट उमकला न्यौपाने अर्याल, वडा ३ बाट वसन्ती थापा रहेको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताईन् । यसैगरी खुला दलित सदस्यबाट वडा ३ का तेजप्रसाद रसाली र वडा ६ का बोमलाल सुनार निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै निस्दी गाउँपालिकामा नेकपा एमालेका ६ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् । यहाँ ७ वटै वडासहित अध्यक्ष, उपाध्यक्ष एमालेबाटै निर्वाचित भएका थिए । निस्दीमा ६ जना कार्यपालिका सदस्य निर्वाचित भएसँगै कार्यपालिकाले पूर्णता पाएको छ । निर्वाचित सदस्यहरुमा वडा १ बाट खुमबहादुर विक, वडा २ बाट खुमीसरा पुलामी, वडा ३ बाट देवीसरा सोमै, वडा ४ बाट हेमकुमारी सुनारी, वडा ५ बाट रिकलाल कामी र वडा ६ बाट मिम्श्री बयम्बु रहेका छन् । यहाँ एमालेबाट मुक्तबहादुर सारु अध्यक्ष र उपाध्यक्षमा तीरनकुमारी श्रेष्ठ निर्वाचित भएका छन् । नेपाली काँग्रेसका गोविन्द अर्याललाई पराजित गर्दै सारु अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै उपाध्यक्षमा निर्वाचित श्रेष्ठले माओवादी केन्द्रका रामप्रसाद खत्रीलनई पराजित गर्दै विजयी भएका हुन् । दोस्रो कार्यकालको लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका सारुले निस्दीको समृद्धि र विकासको लागि सबै राजनैतिक दल, निवर्तमान जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला व्यक्तिहरुसँग समन्वय गरेर अगाडि बढ्ने बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update