गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिका ४ को वडा कार्यालयले निःशुल्क स्वास्थ्य बिमा र निःशुल्क शिक्षा दिने भएको छ । नवनिर्वाचित वडाध्यक्ष लिलाधर आचार्यले वडामा पदभार ग्रहण गरेसँगै वडाका विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा र निःशुल्क शिक्षा दिने लोकप्रिय निर्णय गरेका हुन् । आफुहरुले स्वास्थ्य बिमा र शिक्षाको क्षेत्रमा काम गर्ने निर्णय गरेको वडाध्यक्ष आचार्यले बताए ।
‘वडाका विपन्न नागरिकहरु स्वास्थ्य र शिक्षाको पहुँचबाट टाढा रहेकाले वडाकै बजेटबाट पहिलो निर्णय स्वास्थ्य र शिक्षामा गरेका हौं’ वडाध्यक्ष आचार्यले भने । ‘विपन्न घर परिवारको पहिचान गरेर विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा र निःशुल्क शिक्षा प्रदान गर्ने छौं ।’ उनका अनुसार अब वडाका कुनै पनि नागरिक स्वास्थ्य उपचार र शिक्षाबाट बञ्चित हुने छैनन् । वडामा बसेको पहिलो बैठकले दलित वा गैरदलित जुनसुकै नागरिक भएपनि विपन्नको स्वास्थ्य बिमा गर्ने, आर्थिक अभावले विद्यालय शिक्षाबाट बञ्चितलाई वडाले सहयोग गरेर शिक्षाको पहुँचमा पु¥याउने र लक्षित समूह विभाजन गरेर काम गर्ने निर्णय गरेको हो । नगरपालिकाले वडालाई विनियोजन गर्ने बजेटबाट आफूहरुले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको वडाध्यक्ष आचार्यले बताए । वडाका कुनै पनि नागरिक आर्थिक अभावका कारणले स्वास्थ्य र शिक्षाबाट बञ्चित नहुने वडाध्यक्ष आचार्यको प्रतिवद्धता रहेको छ ।