पाल्पा, पेसाले र्यापर र स्ट्रक्चरल इन्जिनियर बालेनको एकाएक संघीय राजधानी काठमाडौंको मेयरमा उदय भएको विषय अहिले चियापसलदेखि सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । दशकौंदेखिका स्थापित दलहरूलाई विस्तापित गरेर उदाएका उनी अहिले धेरैको चासो र चर्चाको केन्द्रमा छन् । स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिदै गर्दा सामाजिक सञ्जालदेखि चियाचौतारीमा बालेनका विषयमा धेरै टिका टिप्णीहरु भए । केहीले बालेन‘फुच्चे केटो’को संज्ञा दिदै हाँसोको विषय बनाए भने, केहीले उनको समर्थन गरे । समर्थन गर्नेमा धेरै युवा वर्ग नै देखिए । देशभरका युवाहरुले सामाजिक सञ्जालबाट भए पनि बालेनको समर्थन गरे । केही युवाहरुले त बालेनको जितमा सर्त नै राखे । ति मध्येका एक युवक हुन् पाल्पाका जीवन पाण्डे ।
तानसेनमा बैद्धिक पूजा सामग्री सञ्चालन गर्दै आएका पाण्डेले सामाजिक सञ्जाल फेसबुकबाट बालेनले जितेमा उनकै निर्वाचन चिन्ह लौरो वृद्धवृद्धाहरुलाई बाड्ने सर्त राखेका थिए । उनले बालेनको जितमा असार १ गतेदेखि तानसेन नगरपालिका –६ का वृद्धवृद्धा आमाबुबाहरुलाई लौरो वितरण गर्ने घोषणा गरेका थिए । नभन्दै बालेनले भारी मतका साथ मेयरमा निर्वाचित भएपछि पाण्डेले वृद्धवृद्धाहरुलाई वितरण गर्ने ‘बालेन लौरो’ ल्याइसकेका छन् । पाण्डेले आउँदो असार १ गतेदेखि लौरो वितरण सुरु गर्ने बताएका छन् । उनले हरेक महिना १० जनाका दरले वृद्धवृद्धाहरुलाई लौरो वितरण गर्ने बताए । पाण्डेले आफ्नो लौरो वितरण अभियान आगामी २०८४ सालसम्म जारी राख्ने छन् । पछिल्लो समय आमजनता राजनीतिक दलहरुबाट असन्तुष्ट बन्दै गएका बेला स्वतन्त्रबाट युवा नेतृत्व आएको उत्साहमा वृद्धवृद्धाहरुलाई लौरो बाँड्न लागेको युवा व्यवसायी पाण्डेले बताए । उनले भने ‘अरु केही नभई युवाको जितको समर्थनमा लौरो बाड्न लागेको हुँ ।’ ‘पूराना पार्टीहरूमा आफूले जो उठाए पनि जित्छ भन्ने दम्भ थियो । नागरिकहरूले यसपालि एउटा सक्षम उम्मेदवारलाई जिताएर उनीहरूको दम्भ तोड्ने काम गरेका छन्,’ पाण्डेले भने । पाण्डे जस्तै देशभरका युवाहरु बालेनको जितमा उत्साहित भएका छन् ।