रामचन्द्र रायमाझी
पाल्पा, यस पटकको स्थानीय तह निर्वाचनमा ठूला राजनीतिकक दलहरू आफ्नै आधार क्षेत्र भनिएका तथा अघिल्लो निर्वाचनमा जित हात पारेका पालिकाहरूमै पराजित भएका छन् । पाल्पाका दश स्थानीय तह मध्ये एमालेले ६ पालिकामा विजयी हासिल गर्दै पहिलो दल बनेको छ । उसले केही पालिकामा विरासत गुमाएको छ भने केहीमा पुराना किल्ला भत्काएको छ । त्यस्तै नेपाली काँग्रेस तीन पालिकामा विजय भएको छ ।काँग्रेस यो चुनावी परिणामबाट दोस्रो दल बनेको छ । उसले पनि केही पालिकामा आफ्नो विरास गुमाएको छ भने केहीमा पुराना किल्ला भत्काएको छ । काँग्रेसले २५ वर्षपछि नेकपा एमालेको गढ मानिएको सदरमुकाम तानसेनमा विजयी हासिल गरेको छ । उसले अहिले ८ वटा वडा सहित नगर आफ्ना हातमा लिएको हो । यहाँ एमालेले २०५४ देखि निर्वाचन जित्दै आएको थियो । २०४९ मा नेपाली काँग्रेसका धिरेन्द्रप्रसाद श्रेष्ठ अत्याधिक मतका साथ नगर प्रमुखमा विजयी भएका थिए । त्यसयताका निर्वाचन भने एमालेले जित्दै आयो ।
काँग्रेसलाई विभिन्न समयमा हुने निर्वाचनमा आफ्नो पक्षमा जित्न निकै सकस भयो । एमालेले आफ्नो गढ सावित गर्दै यहाँ पटक–पटक विजयको झण्डा फरफराउँदै आयो । तर अहिलेको स्थानीय निर्वाचनमा एमालेले लजास्पद हार बेहोरेको छ भने ३ वटा वडामा खुम्चिएको छ । एमालेले तानसेनमा विरासत गुमाए पनि काँग्रेसको गढ मानिएको माथागढी गाउँपालिकामा भने विजयी हासिल गरेको छ । यहाँ २०७४ को निर्वाचनमा नेपाली काँग्रेसले क्लिन स्वीप गरेको थियो । तर, यसपालीको निर्वाचनमा भने पालिका गुमाएको छ । यहाँ ८ वटा वडा मध्ये ४ वडामा काँग्रेस खुम्चिएको छ । यस्तै नेपाली काँग्रेसले बगनासकाली गाउँपालिकामा २०७४ को निर्वाचनमा अध्यक्ष सहित ५ वटा वडा जितेको थियो । यस पटक भने काँग्रेसले पालिका अध्यक्ष गुमाएको छ भने तीन वटा वडामा खुम्चिएको छ । यहाँ एमालेले भने अध्यक्ष, उपाध्यक्ष सहित ६ वटा वडा जितेको छ । अघिल्लो निर्वाचनमा ४ वटा वडासहित उपाध्यक्षमा खुम्चेको एमालेले यस पटक भने २ वटा वडा बढाएको छ भने पालिका अध्यक्ष, उपाध्यक्ष पनि आफ्नो पोल्टमा पारेको छ ।
रिब्दीकोट गाउँपालिकामा भने एमालेले आफ्नो बचश्च गुमाएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा अध्यक्ष, उपाध्यक्षसहित एमालेको सरकार बनाएको उसले अहिले गुमाउन पुगेको छ । यस्तै एमालेले तिनाउ गाउँपालिकामा उपाध्यक्ष गुमाएको छ । उसले अघिल्लो निर्वाचनमा अध्यक्ष, उपाध्यक्षसहित एमालेको सरकार निर्माण गरेको थियो । अहिले अध्यक्ष जिते पनि उपाध्यक्ष गुमाउन पुगेको हो । यहाँ गठबन्धनबाट नेपाली काँग्रेसले उपाध्यक्ष जित्न सफल भएको छ । नेपाली काँग्रेसले अघिल्लो निर्वाचनमा ४ प्रमुख र ३ उपप्रमुख र ३७ वटा वडा जितेको थियो । यसपटक भने ३ प्रमुख ३ उपप्रमुख र ३६ वटा वडामा खुम्चिन पुगेको छ । नेकपा एमालेले भने २०७४ सालकै पुरानै विरासत कायम गरेको छ । एमाले पाल्पाले ६ प्रमुख, ५ उप–प्रमुख र ४१ वटा वडामा विजय हासिल गरेको छ । उसले अघिल्लो निर्वाचनमा ६ प्रमुख र ७ उप प्रमुख ४० वटा वडामा जितेको थियो । एमालेले अहिले २ वटा उप–प्रमुख गुमाएको छ भने १ वटा वडा थपेको छ । यो चुनवी नतिजासँगै जिल्ला समन्वय समिति पनि नेकपा एमालेको पोल्टामा पुगेको छ । जिल्ला समन्वयको प्रमुख, उप–प्रमुखसहित सदस्यको निर्वाचनका लागि पाल्पाका १० पालिका प्रमुख उप–प्रमुख गरी २० जनाको मताधिकार रहेकोमा नेकपा एमालेका ११, नेपाली काँग्रेसको ६ र माओवादी केन्द्रको ३ मत रहेको छ ।
गठबन्धनले माओवादी र जनमोर्चालाई लाभ
पाल्पामा भएको गठबन्धनले माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चालाई फाइदा पुगेको छ । २०७४ को स्थानीय निर्वाचनमा ४ वडामा मात्र सिमित रहेको माओवादी केन्द्रले अहिले १ अध्यक्ष, १ उपाध्यक्ष र १ नगर उपप्रमुखसहित ५ वडामा जित हासिल गरेको छ । जनमोर्चाले १ वडा अध्यक्ष र २ वटा वडा सदस्यमा विजय हासिल गरेको छ । गठबन्धन गरेका दलहरुमध्ये कलम चिन्हबाट नेकपा एकीकृत समाजवादीले भने एक सिट पनि जितेन । बरु उल्टै कलमको भोट ठूलो संख्यामा बदर भयो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कलम चिन्हमा परेको ५.८ प्रतिशत मत बदर भएको छ । निर्वाचन कार्यालय रम्भाका अनुसार अध्यक्षको उम्मेदवारमा १ हजार ४६ मत बदर भएको छ । कलम चिन्ह लिएर उपाध्यक्षमा उम्मेदवार भएका बगनासकालीमा पनि १ हजार ९ सय ९६ मत बदर भएको छ । पूर्वखोलामा पनि अध्यक्षमा कलम चिन्ह लिएर उठेका उम्मेदवारको कुल खसेको मतमा १ हजार १ सय ८५ मत बदर भएको छ ।