पाल्पा, जिल्लाको निस्दी गाउँपालिकामा नेकपा एमालेका ६ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् । यहाँ ७ वटै वडासहित अध्यक्ष, उपाध्यक्ष एमालेबाटै निर्वाचित भएका थिए । निस्दीमा ६ जना कार्यपालिका सदस्य निर्वाचित भएसँगै कार्यपालिकाले पूर्णता पाएको छ । निर्वाचित सदस्यहरुमा वडा १ बाट खुमबहादुर विक, वडा २ बाट खुमीसरा पुलामी, वडा ३ बाट देवीसरा सोमै, वडा ४ बाट हेमकुमारी सुनारी, वडा ५ बाट रिकलाल कामी र वडा ६ बाट मिम्श्री बयम्बु रहेका छन् । यहाँ एमालेबाट मुक्तबहादुर सारु अध्यक्ष र उपाध्यक्षमा तीरनकुमारी श्रेष्ठ निर्वाचित भएका छन् । नेपाली काँग्रेसका गोविन्द अर्याललाई पराजित गर्दै सारु अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै उपाध्यक्षमा निर्वाचित श्रेष्ठले माओवादी केन्द्रका रामप्रसाद खत्रीलनई पराजित गर्दै विजयी भएका हुन् ।
दोस्रो कार्यकालको लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका सारुले निस्दीको समृद्धि र विकासको लागि सबै राजनैतिक दल, निवर्तमान जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला व्यक्तिहरुसँग समन्वय गरेर अगाडि बढ्ने बताएका छन् । उनले पाँच वर्षमा गर्न बाँकी रहेका अधुरा कामहरु सम्पन्न गर्ने र थप नयाँ योजनालाई अगाडि बढाउने बताए । यहाँ २०७४ सालको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष सहित ५ वटा वडामा नेकपा एमाले विजयी भएको थियो भने २ वटा वडा नेपाली काँग्रेसले जितेको थियो ।