Shittalpati
रम्भा गाउँ सरकारको निर्णय, निःशुल्क दुर्घटना बिमादेखि एकल पुरूषलाई भत्ता

कृष्ण पोखरेल
तानसेन, स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि धमाधम जनप्रतिनिधिहरुले आफ्ना महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्दै आएका छन् । अधिकांश जनप्रतिनिधिहरुले लोकप्रिय निर्णयहरु गर्दै आएका छन् । पाल्पाको रम्भा गाउँपालिकामा पनि नवनिर्वाचित जनप्रतिनिधिले महत्वकांक्षी निर्णय सार्वजनिक गरेका छन् । पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पदभार सम्हालेसँगै रम्भावासीको निःशुल्क दुर्घटना बिमा गर्नेदेखि एक पुरुषलाई भत्ता दिने सम्मका निर्णय गरेका छन् । उनले पालिका भित्रका जनतालाई एक लाख रुपैयाँको दुर्घटना बिमा गर्ने निर्णय गरेका छन् ।

दुर्घटनामा परी घाइते भएका व्यक्तिले अस्पतालमा उपचार बापतको एक लाख रुपैयाँ वा मृत्यु भएमा घरपरिवार आफन्तलाई एक लाख रुपैयाँ गाउँपालिकाले प्रदान गर्ने गरी गाउँपालिका भित्रका सबै नागरिकहरुको निःशुल्क दुर्घटना बिमा गरिने अध्यक्ष भण्डारीले बताए । गाउँपालिकाले निकालेको तथ्याड्ढ अनुसार रम्भामा २५ हजार ९ सय ९० जनसंख्या रहेको छ । गाउँपालिकाले २५ हजार ९ सय ९० जनाको दुर्घटना बिमा गर्ने निर्यण गरेको हो । गाउँपालिकाले यस अघि सबै बालबालिकालाई विद्यालयसम्मको पहुँचमा पुर्‍याउन, शिक्षकहरुको विद्यालय तथा विद्यार्थीप्रति लगाब बढाउन सबै विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको मात्र दुर्घटना बिमा गरिदिएको थियो । यस्तै रम्भा गाउँपालिकाले सबै एकल पुरुषहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने निर्णय समेत गरेको छ । पालिकाले कार्यविधी बनाएर सबै एकल पुरुषहरुलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । अहिले पालिकामा एकल महिला तथा ७० वर्ष माथिका जेष्ठ नागरिकले मात्र सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए । जनताको कामलाई छिटो छरितो गर्न पालिकाको सेवा चुस्तदुस्त तथा प्रभावकारी बनाउन सूचना प्रविधिको व्यवस्थापन, कर्मचारी खटन पटन, श्रोत साधनको परिचालनलाई व्यस्थित बनाउने निर्णय भएको पालिका अध्यक्ष भण्डारीले बताए । ५ वटा वडा रहेको पालिकामा अध्यक्ष भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, वडा ५ का वडा अध्यक्ष खुमकान्त बस्याल र वडा ३ का वडा अध्यक्ष थमनबहादुर गाहा पुनर्निर्वाचित जनप्रतिनिधि हुन भने वडा १ का ईश्वरी काफ्ले, वडा २ का वडा अध्यक्ष चेतबहादुर सुनारी र वडा ४ का वडा अध्यक्ष कृष्णबहादुर रायमाझी नयाँ अनुहारका जनप्रतिनिधि हुन् । रम्भामा पालिका अध्यक्ष, उपाध्यक्ष सहित ३ वटा वडा अध्यक्ष नेकपा एमाले र २ वटा वडा नेपाली काँग्रेसले विजय गरेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update