पाल्पा, प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर स्थापना दिवस मनाएको छ । शुक्रबार आफ्नो ३१ औं स्थापना दिवस बनाउन युनियनमा आवद्ध पत्रकार त्यहाँ पुगेका हुन् । आश्रममा रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिसँग बसेर युनियनले आफ्नो स्थापना दिवस मनाएको हो ।
श्रमजीवी पत्रकारहरुको हकहित सरक्षणका लागि २०४८ जेठ १३ गते स्थापना भएको युनियनले असहाय, बेसहारा, वृद्धहरुसँग माया र सद्भाव साट्ने उद्देश्यले आश्रममै पुगेर स्थापना दिवस मनाइएको जनाएको छ । राजनीतिक दलहरुसँगै पुगेको पत्रकारको टोलीले त्यहाँ रहेका २५ जना असहाय, बेसहारा, वृद्धवृद्धाहरुलाई फलफूल समेत बाँडेको थियो । पत्रकारसँगै आश्रममा पुगेका नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पत्रकारले असहाय, बेसहारा, वृद्धवृद्धाप्रति देखाएको सद्भाव प्रशसनिय रहेको बताए । उनले आवाजविहीनहरुको आवाजलाई कलमको माध्यमबाट सम्बन्धित निकायमा पुर्याउने काम गर्दै आएका पत्रकारहरु आश्रममै पुगेर कार्यक्रम आयोजना गर्नु आफैमा अनुकरणीय कार्य रहेको धारणा व्यक्त गरे । उनले लोकतन्त्र स्थापनामा पत्रकारहरुले खेलेको भूमिकाको स्मरण गर्दै नेपाली काँग्रेसले पत्रकारहरुको पेशागत सुरक्षामा विशेष ध्यान दिनेमा जोड दिए । नेपाली काँग्रेसका उपसभापति तथा युनियन पाल्पाका संस्थापक सभापति झपेन्द्र गहिरेले युनियनले स्थापना दिवसमा रचनात्मक कार्य गरेकोमा खुसी व्यक्त गरे । उनले प्रेस युनियनको स्थापना र अहिलेको अवस्थाको विषयमा जानकारी गराए । श्रमिक, असहाय, अशक्त र वृद्धवृद्धाहरुको पक्षमा सधै युनियनका पत्रकारले कलम चलाउँदै आएको युनियनका जिल्ला सभापति भरत शर्माले बताए । उनले भने ‘ जहिले पनि यि वर्गका व्यक्तिहरु पत्रकारको प्राथमिकतामा पर्ने भएकाले पनि युनियनको स्थापना दिवस उहाँहरुसँगै बसेर मनाएका हौं ।’ आगामी दिनमा पनि रचनात्मक कार्यक्रमहरु गर्दै जाने सभापति शर्माले बताए ।
निलसागर आश्रमका संयोजक देव प्रसाद बज्राचार्यले पत्रकारहरुले आश्रममा रहेका नागरिकहरु प्रति देखाएको माया र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिए । उनले सहयोगी दाताहरुको सहयोगमा आश्रम सञ्चालन गर्दै आएको बताए । प्रचार प्रसार हुँन नसक्दा बत्ति मुनिको अध्याँरो जस्तै आश्रम बन्न पुगेकाले त्यसको प्रचार प्रसार गरिदिन उनले पत्रकारहरुलाई आग्रह गरे ।
नेपाल प्रेस युनियन पाल्पाका प्रदेश पार्षद् सुमन गहिरेले आश्रमका लागि व्यक्तिगत आर्थिक सहयोग समेत गरेका छन् । उनले आगामी दिनमा पनि आश्रमलाई सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका कोषाध्यक्ष मोहन श्रेष्ठ,काँग्रेसका तानसेन नगर सभापति सुवर्णमुनी शाक्य, युनियनका केन्द्रिय सदस्य माधब अर्याल लगायत युनियनका सम्पूर्ण पदाधिकारी, पार्षद, सदस्यहरु पत्रकारहरुको उपस्थिती रहेको थियो । युनियनका सभापति भरत शर्माको सभापतित्व, उपसभापति मन गहिरेको स्वागत, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।