Shittalpati
पाल्पामा दोहोरिएका अनुहार : पुराना कोहीले हारे, कोहीले जिते

कृष्ण पोखरेल
पाल्पा, यस पटकको स्थानीयतह निर्वाचनमा पाल्पामा ९ जना पुराना अनुहारले उम्मेदवारी दिएका थिए । २०७४ सालको निर्वाचनमा प्रमुख/अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित भएर पाँच वर्ष पालिकाको नेतृत्व गरी अनुभव संगालेका ९ जनाले पुनः यस पटकको निर्वाचनमा उम्मेदवारी दिए । उम्मेदवारी दिएका पुराना अनुहार मध्ये ६ जना पुनः निर्वाचित हुन सफल भए भने ३ जना पराजित भए ।

अघिल्लो निर्वाचनमा माथागढी गाउँपालिकाबाट अत्याधिक मतका साथ पुरै प्यानलै सहित निर्वाचित भएका नेपाली काँग्रेसका सन्तोष कुमार थापा यस पटक भने पराजित भएका छन् । त्यस्तै रिब्दीकोट गाउँपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका दुवै जना यस पटक पराजित भएका छन् । अघिल्लो निर्वाचनमा अध्यक्षमा भारी मतका साथ विजयी भएका नारायणबहादुर जिसी यस पटक पराजित भए । उपाध्यक्षमा अघिल्लो निर्वाचनमा निर्वाचित भएकी लक्ष्मी खनाल यस पटक पराजित भएकी छन् । यस्तै ६ जना प्रमुख÷अध्यक्ष तथा उपाध्यक्ष दोहोरिएर पनि यस पटकको निर्वाचनमा विजयी भएका छन् । नेकपा एमालेबाट रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी र उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, पूर्वखोला गाउँपालिकाबाट अध्यक्षमा नुनबहादुर थापा र उपाध्यक्षमा भागिरथी शर्मा भट्टराई यस पटकको निर्वाचनमा पनि विजयी भए ।

यस्तै निस्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट मुक्तबहादुर सारु, रामपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका रमणबहादुर थापा यस पटक पनि दोहोरिएका छन् । यस पटक विजयी भएका ६ जना प्रमुख तथा उपप्रमुखहरु मध्ये ३ जनाले लोकप्रिय मत बढाएका छन् भने ३ जनाले घटाएका छन् । रम्भा गाउँपालिकाका अध्यक्ष भण्डारीे २०७४ सालमा नेपाली काँग्रेसका अशोककुमार फालसँग ६ सय ६९ मत अन्तरले विजयी भएका थिए भने अहिले गठबन्धनका दुर्गा प्रसाद अधिकारीसँग १ हजार ४४ मत अन्तरले विजयी भए । यो तथ्याड्ढले अध्यक्ष भण्डारीको लोकप्रिय मत बढेको छ । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले स्थानीय तह निर्वाचन २०७९ मा ४ हजार ७ सय ८२ मत अन्तरले विजयी भएका छन् । २०७४ सालमा अध्यक्ष थापा नेपाली काँग्रेसका झमन राजमगरबाट ३ हजार ९ सय ४ मत अन्तरले विजयी भएका थिए । पूर्वखोलाका अध्यक्ष थापाको २०७४ भन्दा २०७९ मा ८ सय ७८ लोकप्रिय मत बढेको छ । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले २०७९ स्थानीयतह निर्वाचनमा लोकप्रिय मत बढाएका छन् । सारु २०७४ मा २ हजार ३ सय ९७ मत अन्तरले अध्यक्षमा विजयी भएका थिए भने २०७९ मा ३ हजार १ सय ८६ मत अन्तरले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका छन् । सारुले ७ सय ८९ लोकप्रिय मत यस पटक बढी ल्याएका छन् ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा पुनः विजयी हुने भाग्यमानी नेता भए पनि उनको लोकप्रिय मत भने घटेको छ । नगर प्रमुख थापा २०७४ सालको स्थानीयतह निर्वाचनमा १ हजार २ सय ९ मत अन्तरले विजयी भएका थिए भने अहिले ३ सय ७३ मत अन्तरले मात्र विजयी भएका छन् । नगर प्रमुख थापाको २०७४ को स्थानीय निर्वाचनको मतान्तर हेर्दा अहिले ८ सय ३६ लोकप्रिय मत घटेको छ । यसैगरी पूर्वखोला गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष भागिरथी शर्मा भट्टराईको २०७४ को भन्दा २०७९ को निर्वाचनमा लोकप्रिय मत घटेको छ । २०७४ मा उपाध्यक्ष भट्टराई ३ हजार ७ सय ८८ मतान्तरले विजयी भएकी थिईन भने अहिले ३ हजार ६ सय ४४ मतान्तरले विजयी भइन् । उपाध्यक्ष भट्टराईको २०७४ मा भन्दा यसपटकको निर्वाचनमा १ सय ४४ मत घटेको छ । रम्भा गाउँपालिकाकी उपाध्यक्ष राधा कुमारी श्रेष्ठको २०७४ मा भन्दा यस पटकको निर्वाचनमा लोकप्रिय मत घटेको छ । उपाध्यक्ष श्रेष्ठ २०७४ मा ६ सय ८२ मतान्तरले विजयी भएकी थिइन् भने यस पटक ६ सय ६१ मतान्तरले मात्र विजयी भइन् । उपाध्यक्ष श्रेष्ठको २०७४ भन्दा २०७९ मा भएको निर्वाचनमा २१ मत घटेको हो । तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, माथागढी गाउँपालिका र तिनाउ गाउँपालिकामा प्रमुख तथा उप प्रमुखमा नयाँ नेतृत्व आएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update