Shittalpati
तानसेनको विकासमा पूर्वाग्रह राख्दिन : नगर प्रमुख श्रेष्ठ

रामचन्द्र रायमाझी
पाल्पा, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको विकासमा कुनै पनि पूर्वाग्रह नराखी काम गर्ने बताएका छन् । बिहीबार पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख श्रेष्ठले विकास र सेवा प्रवाहका काममा पूर्वाग्रह नराख्ने बताएका हुन् । उनले आफु पाँच वर्षका लागि जनताको सेवक बन्न आएको बताउँदै कुनै पनि पक्ष, विपक्ष बनाएर काम नगर्ने बताए ।

नगरप्रमुख श्रेष्ठले सन्तुलित विकासको अवधारणालाई आत्मसाथ गर्दै यहाँको विकास र विस्तारमा आफ्नो ध्येय रहने प्रतिवद्धता व्यक्त गरे । उनले आगामी नीति तथा कार्यक्रममा दीर्घकालीन, अल्पकालीन योजना बनाएर आफु अगाडि बढ्ने प्रण गरेको बताए । नगर प्रमुख श्रेष्ठले भने ‘तानसेनको समस्यालाई प्राथमिकताका आधारमा राखेको छु । यहाँको मुख्य समस्याका रुपमा रहेको खानेपानी वितरण, सडक र विद्युत रहेकाले त्यसमा गम्भीर भएर लाग्नेछु ।’ तानसेन पर्यटकीय र शिक्षाको रुपमा सम्भावना भएकाले त्यसतर्फ पनि आफ्नो ध्यान जाने उनले बताए । तानसेनका प्रत्येक वडामा खेलमैदान निर्माण गर्ने, पार्किङ्गलाई व्यवस्थित गर्ने, माडीफाँटमा रहेको बाँझो जग्गालाई उपयोग गरी उत्पादनसँग जोड्ने, सिद्धबाबा सडक निर्माणमा पहल गर्ने योजना आफ्नो रहेको नगर प्रमुख श्रेष्ठको भनाई छ । उनले विगतमा जस्तो तानसेनका जनताको घर फत्काउने र सडक चौडा बनाउने भन्ने विषयमा आफ्नो कत्ति पनि ध्यान नजाने बताए । उनले भएको वस्तीलाई नै व्यवस्थित गरेर यहाँको विकास गरिने बताए । नगर प्रमुख श्रेष्ठले तानसेनको विकासमा नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने समेत बताए । कार्यक्रममा नवर्निवाचित उप प्रमुख प्रतिक्षा सिंजालीले तानसेनको आवश्यकता र समस्याको पहिचान गरेर नीति तथा कार्यक्रम ल्याईने बताइन् । उनले जनताको मतलाई सहि ठाउँमा प्रयोग गरि काम गर्ने उद्घोष गरिन् । उनले भनिन् ‘हिजो जुन दलबाट निर्वाचित भएर आएपनि अब भने सबैको साझा बनेर काम गर्छौ, हामी दल र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको सेवामा समर्पित भएर काम गर्छौं ।’ कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले तानसेनको खस्कदो व्यापार, व्यवसायमा ध्यान दिन नयाँ नेतृत्वलाई आग्रह गरे ।

उनले तानसेनको शिक्षा, स्वास्थ्य र पर्यटनको विकास गर्न नसक्दा यहाँको व्यापार, व्यवसायी खस्कदै गएकाले त्यसतर्फ नगर सरकारले सोच्नुपर्नेमा जोड दिए । अध्यक्ष महर्जनले भने ‘तानसेनमा खानेपानी, पर्यटन र सडकको समस्या प्रमुख रहेको छ । त्यसको समाधानमा नगर सरकार गम्भीर बन्न आवश्यक छ ।’ संघका उद्योग उपाध्यक्ष भीमबहादुर श्रेष्ठले नगर सरकारको नेतृत्व गर्ने व्यक्ति निजी क्षेत्रसँग आवद्ध भएका कारण पनि निजी क्षेत्रको समस्या बुझ्नेमा विश्वास व्यक्त गरे ।

संघका निवर्तमान अध्यक्ष मोहन प्रसाद श्रेष्ठले तानसेनको विकास नभएसम्म अन्य स्थानीय तहको विकास सम्भव रहेको भन्दै तानसेनको विकासमा नगर सरकारले ध्यान दिनुपर्ने बताए । उनले आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहे पनि स्थानीय सरकारबाट प्रताडित हुनु परेको गुनासो गरे । श्रेष्ठले आगामी दिनमा नीजि क्षेत्रसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्न नगर सरकारलाई आग्रह गरे । नेपाल पत्रकार महासंघका अध्यक्ष भरत शर्माले नगरको आवश्यकता र समस्यालाईलाई प्रथामिकतामा राखेर नगर सरकारले काम गर्नुपर्ने बताए । उनले तानसेनको विकासमा पाल्पा उद्योग वाणिज्य संघको पनि महत्वपूर्ण भूमिका रहेकाले संघ र नगर सरकार सहकार्य गरे अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष मधुदैयाल सैजु, होटल व्यवसायी लक्ष्मण बस्याल, नित्यानन्द बस्याल, राजीव शाक्य, बालकृष्ण बस्याल लगायतले तानसेनको खानेपानी, पर्यटन र सडक स्तरन्नोतिमा ध्यान दिन नगर सरकारको नयाँ नेतृत्वलाई आग्रह गरे । संघले स्थानीय तहमा निर्वाचित संघमा आवद्ध जनप्रतिनिधिहरुलाई स्वागतसँगै सम्मान गरेको छ । संघका अध्यक्ष राजु महर्जनको अध्यक्षता, महासचिव शैलेन्द्र भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।)

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update