कृष्ण पोखरेल
पाल्पा, पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलन गर्दै आएका ६ जना युवालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवा संघ र अनेरास्वयुवियुका नेता तथा कार्यकर्ताहरु रहेका छन् । युवा संघ र अनेरास्ववियुका कार्यकर्ताले मुल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन रोक्ने क्रममा प्रहरीले तानसेन आन्दोलन चोकबाट ६ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले युवा संघ नेपालका केन्द्रिय सदस्य दिपक विश्वकर्मा, जिल्ला कोषाध्यक्ष सुधिर भट्टराई, तानसेन नगर अध्यक्ष राजेश भट्टराई, अनेरास्वयवियुका जिल्ला अध्यक्ष हिरा कुल कुवँर, युवा संघका जिल्ला सदस्य कृष्ण बस्याल र शिशिर बस्याल लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाल्पामा राखेको छ । सरकारी सवारी साधनको चापी नियन्त्रण लिने क्रममा ६ जना आन्दोलनकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले बताए ।
सरकारले चुनावी खर्च उठाउन, जनताको ढाड सेक्ने गरी हप्तामा दुईपटक अत्याधिक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको, खाने तेलदेखी खाद्यान्न, तरकारीजन्य सबै उत्पादनमा दिनहँु मुल्यवृद्धि भएको, कमिशन, घुसखोरी, बढेको विरोधमा अनेरास्ववियु र युवा संघ पाल्पाले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् । पक्राउको क्रममा युवा संघका पाल्पा इन्चार्ज दिपक विश्वकर्माले सरकारले मुल्यवृद्धि फिर्ता नलिएसम्म पाल्पामा आन्दोलन जारी राख्ने बताए ।