Shittalpati
माथागढीमा अभिभावक विहीन बालबालिकालाई निःशुल्क शिक्षा

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले अभिभाव विहिन बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने भएको छ । गाउँपालिका अध्यक्ष यम चिदीले शपथ ग्रहणसँगै महत्वकांक्षी निर्णय अगाडि सार्दै अभिभावक विहीन बालबालिकाहरुका लागि निःशुल्क शिक्षा दिने विषयमा हस्ताक्षर गरेका छन् ।
पालिकाका ग्रामीण क्षेत्रमा अझै पनि आर्थिक अभाव र अभिभावक गुमाएका बालबालिकाहरु विद्यालय भन्दा बाहिर रहेकाले तिनीहरुलाई विद्यालय शिक्षामा ल्याउने संकेत अध्यक्ष चिदीले गरेका छन् । उनले अभिभावक बिहीन बालबालिकाको पढाई लेखाई, पोशाक तथा शिक्षा सम्बन्धी सम्पूर्ण खर्च पालिकाले बेहोर्ने निर्णयमा हस्ताक्षर गरे ।

मगर समुदायको बाहुल्यता रहेको यहाँका धेरै बालबालिकाहरु विद्यालय शिक्षा भन्दा बाहिर रहेका छन् । विद्यालय शिक्षामा समाहित गराउने योजना गाउँ सरकारले ल्याएकोमा अभिभावहरु उत्साहित भएका छन् । पालिकाले यस अघि पनि विद्यार्थीहरुलाई विद्यालयसम्म ल्याउने प्रयास गरेको हो । अहिले नवर्निवाचित चिदीले पनि त्यसलाई प्रभावकारी रुपमा अगाडि बढाउन अभिभावक विहीन बालबालिकाहरुलाई माध्यमिक तहसम्म पढ्न निशुल्क गर्ने निर्णय गरेको हुन् । अध्यक्ष चिदीले विगतमा सुरु गरेका योजनालाई पूरा गर्ने, निर्वाचनका बेला जनतासँग गरेका वाचा र घोषणपत्र अनुरुप काम गर्ने बताए । उनले भने, ‘आगामी दिनमा अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछु ।’ उनले आदिवासी जनजाती, दलित, महिलाहरुका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन् । सुशासन र पारदर्शिताका लागि समेत चिदीले योजना बनाएका छन् । आर्थिक अनियमितता हुन नदिने, सुशासनयुक्त गाउँपालिका बनाउने र भ्रष्टाचारमुक्त गाउँपालिका बनाउन पहल गर्ने उनको योजना रहेको छ ।

गाउँपालिकाले विगतदेखि नै शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाएको थियो । अहिले पनि शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेर काम गर्ने संकेत अध्यक्ष चिदीले गरेका छन् । गाउँपालिकाले यस अघि जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गरी पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरी लागु गर्दै आएको छ । उसले अहिले मातृभाषमा पाठ्यपुस्तक समेत निर्माण गरेको छ । गाउँ सरकारले स्थानीय पाठ्यक्रममा आधारित रहेर पठनपाठन गर्दै आएका गाउँपालिका भित्रका बालबालिकाहरुका लागि अहिले मातृभाषाका पाठ्यपुस्तक तयार गरेको हो । गाउँपालिका भित्रका तीन विद्यालयमा अहिले मातृभाषा मगर ढुटमा अध्ययन–अध्यापन हुने गरेको छ । अहिले नवजागृत प्रावि, जाउपोखरा आधारभूत र धारादेवी माविमा मगर भाषामा अध्ययन हुँदै आएको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update