कृष्ण पोखरेल
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकामा नेकपा एमालेका ६ जना कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । कार्यपालिका सदस्यहरुमा वडा सदस्यमा निर्वाचित भएका वडा २ की, गीता रेग्मी, वडा ३ बाट वसन्ती थापा, वडा ५ की, खुमादेवी भट्टराई र वडा ८ बाट उमकला न्यौपाने अर्याल निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी खुला दलित सदस्यबाट वडा ३ का तेजप्रसाद रसाली र वडा ६ का बोमलाल सुनार निर्विरोध कार्यपालिका सदस्य निर्वाचित भएका छन् । नेपाली काँग्रेस तथा अन्य दलबाट कार्यपालिका सदस्यमा उम्मेदवारी मनोनयन नपरेपछि एमालेका सबै उम्मेदवार स्वतः निर्विरोध निर्वाचित भएको तर कानुनी रुपमा भने जेठ १५ गते मात्र निर्वाचित भएको घोषणा गरिने बगनासकाली गाउँपालिकाका निर्वाचन अधिकृत रवि न्यौपानेले बताए । १७ जनाको बगनासकाली गाउँ कार्यपालिका रहेकोमा नेकपा एमालेबाट १४ जना र नेपाली काँग्रेसबाट ३ जना रहेका छन् । ४९ जना सदस्य रहेको गाउँपालिकामा एमालेको अध्यक्ष, उपाध्यक्ष सहित ३२ जना रहेको नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष एवं लुम्बिनी प्रदेश सदस्य देवी प्रसाद बस्यालले बताए । नेपाली काँग्रेसको ३ वडा अध्यक्ष सहित १६ जना र १ जना सदस्य नेकपा माओवादी केन्द्रका रहेका छन् । ९ वटा वडा रहेको गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा एमालेले ६ वटा वडा अध्यक्ष र नेपाली काँग्रेसले ३ वटा वडा अध्यक्षमा विजय हासिल गरेको छ ।