
पाल्पा, कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको एक लाख २२ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । उसले लुम्बिनी जनरल इन्स्योरेन्समा रहेको आफ्नो एक लाख २२ हजार २ सय ८७ कित्ता बराबरको संस्थापक सेयर बेच्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको इन्स्योरेन्सको संस्थापक सेयर बेच्न लागेको जनाएको छ ।
सिलबन्दी बोलकबोल प्रक्रियामार्फत बिक्री हुने इन्स्योरेन्सको लागि जेठ १३ गतेदेखि २७ गतेसम्म आवेदन दिन सकिने छ । प्रति कित्ता न्यूनतम २ सय रुपैयाँ तोकिएको कम्पनीको सेयरका लागि तोकिएको मूल्य वा सोभन्दा बढी दरमा आवेदन दिन सकिनेछ । तर, खरिदकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक संस्थापक सेयरधनीहरूलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र लिखित निवेदन पेस गर्न बैंकले अनुरोध गरेको छ ।
तोकिएको अवधिमा खरिद गर्न इच्छुक गैरसंस्थापक लगानीकर्ता तथा योग्य जो कोही व्यक्ति या संगठित संस्थाले पनि सिलबन्दी बोलकबोलमा भाग लिन सक्नेछन् । बोलपत्र आवेदन कुमारी क्यापिटलबाट प्राप्त गर्न सकिनेछ । बैंकले देशव्यापी १ सय ९७ शाखा, १ सय ७७ एटीएम, ४२ शाखारहित बैंकिङ इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत ग्राहकलाई सेवा सुविधा दिँदै आएको छ ।