Shittalpati
पाल्पामा उम्मेदवार छान्नै सकस, आज टुंगो लगाएर मनोनयन गर्दै दलहरु

रामचन्द्र रायमाझी
पाल्पा, आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा दलहरुलाई उम्मेदवार छान्न सकस भएको छ । आइतबार सबै तहका उम्मेदवारहरुको टुंगो नलागे पछि सत्ता गठबन्धन, एमाले, राप्रपा लगायतका दलहरुले सोमबार (आज) मात्रै मनोनयन दर्ता गर्ने भएका छन् । सत्ता गठबन्धनले ढिला गरेर भागबण्डा टुंग्याएको र तल्लो तहदेखि नै आकांक्षीहरु धेरै भएका कारण पनि गठबन्धन दललाई उम्मेदवार टुंग्याउन सकस भएको हो ।
गठबन्धन दलहरुले जिल्लाका दश वटै पालिकामा भागबण्डा टुंग्याए पनि आइतबार अबेरसम्म उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । नेपाली काँग्रेसको भागमा परेका ६ वटा पालिका मध्ये दुई वटामा मात्र अध्यक्ष/उपाध्यक्षको उम्मेदवारी टुंगो लागेको छ । निस्दी गाउँपालिकामा अध्यक्षका उम्मेदवार गोविन्द प्रसाद अर्याल र पूर्वखोला गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार विष्णु कुमारी आचार्यलाई काँग्रेसले सर्वसहमत रुपमा उम्मेदवार बनाएको नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति झमनबहादुर राज मगरले बताए । अन्य पालिका र केही वडाहरुमा भने यो समाचार तयार पर्दासम्म टुंगो लागेको छैनन् । आज सबै उम्मेदवारको टुंगो लगाएर मनोनयन दर्ता गरिने नेपाली काँग्रेसले जनाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले पनि उम्मेदवार टुंगो लगाउन सकेको छैन । दूई वटा पालिका पाएको माओवादीले अध्यक्षको उम्मेदवारी टुंगो लगाए पनि उपाध्यक्ष र वडा तहका पदमा भने टुंगो लगाउन सकेको छैन । उसले रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नारायण बहादुर कार्की र तिनाउ गाउँपालिकाको अध्यक्षमा राजेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ । तीन पालिकामा उपाध्यक्ष र केही वडाहरुमा उम्मेदवारीको टुंगाो लगाउन छलफल भइरहेको जिल्ला इञ्चार्ज नेत्रप्रसाद पाण्डेले बताए ।

सोमबार सबै उम्मेदवारको टुंगो लगाएर मनोनयन गरिने उनले बताए । दुई वटा पालिका पाएको नेकपा एस (एकीकृत समाजवादी)ले पनि पालिका अध्यक्ष र उपाध्यक्षको टुंगो लगाए पनि वडामा भने टुंगो लगाउन सकेको छैन् । एसले पूर्वखोला गाउँपालिकाको अध्यक्षमा मिन गिरी, रम्भा गाउँपालिकाको अध्यक्षमा दुर्गाप्रसाद अधिकारी र बगनासकाली गाउँपालिकाको उपाध्यक्षमा कमल पाण्डेलाई उम्मेदवारी बनाएको एसका युवा नेता करुणा काफ्लेले बताए । उनका अनुसार अझै केही वडाहरुमा उम्मेदवारको टुंगो लाग्न सकेको छैन । यस्तै नेकपा एमाले आइतबार अवेर मात्र उम्मेदवारको टुंगो लगाएको छ । उसले १० वटै पालिकाका प्रमुख, उप प्रमुख र वडामा उम्मेदवार टुंगो लगाएको हो । एमालेले तानसेन नगरपालिकाको प्रमुखमा पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरे, उप प्रमुखमा शशी श्रेष्ठ, बगनासकाली गाउँपालिकाको अध्यक्षमा सरस्वती चिदी दर्लामी र उपाध्यक्षमा हरी प्रसाद पाठक, रिब्दीकोट गाउँपालिको अध्यक्षमा वर्तमान गाउँपालिका अध्यक्ष नारायण बहादुर जि.सी. र उपाध्यक्ष लक्ष्मी खनाल, तिनाउ गाउँपालिकाको अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्षमा सावित्रा राना, निस्दी गाउँपालिकाको अध्यक्षमा मुक्त बहादुर सारु, उपाध्यक्षमा तिरण श्रेष्ठ, पूर्वखोला गाउँपालिकामा नुनबहादुर थापा र भागिरथी भट्टराई, माथागढीमा अध्यक्षमा यम चिदी र उपाध्यक्षमा विष्णु लुङ्चे, रम्भा गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष विष्णु प्रसाद भण्डारी, उपाध्यक्षमा राधादेवी श्रेष्ठ, रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष राम बहादुर राउत, उपाध्यक्षमा गिता घिमिरे, रामपुर नगरपालिकाको प्रमुखमा शिव अर्याल, उप प्रमुखमा दुर्गा देवी रानालाई उम्मेदवार छनौट गरिएको नेकपा एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताए । उनका अनुसार ८१ वडामा पनि उम्मेदवार टुंगो लगाइएको र सोमबार मात्र मनोनयन दर्ता गरिने छ । राप्रपाले पनि उम्मेदवार टुंग्याउन सकेको छैन । आज सबै उम्मेदवारको टुंगो लगाएर मनोनयन दर्ता गरिने जिल्ला अध्यक्ष डुलबहादुर कुंवरले बताए ।

आइतबार केही ठाउँहरुमा नेकपा एमाले, राष्ट्रिय जनमूक्ति पार्टी , मंगोल नेश्नल अर्गानाइजेसन र स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको छ । तिनाउ गाउँपालिकामा एमालेबाट ३२ जनाले विभिन्न तहमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयकी सूचना अधिकारी कल्पना पौडेलले जानकारी दिइन् । उनका अनुसार माथागढी गाउँपालिकामा, राष्ट्रिय जनमूक्ति पार्टीको तर्फबाट वडा नं ४ मा वडा अध्यक्षमा इमानसिं थापाले उम्मेदवारी दिएका छन् । त्यस्तै बगनासकाली गाउँपालिकामा राष्ट्रिय जनमूक्ति पार्टीबाट अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुमा उम्मेदवारी दिएका छन् । त्यस्तै बगनासकालीको अध्यक्षमा एक जना महिलाले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । रिब्दीकोट गाउँपालिकाको वडा नं ७ मा प्रकाश थापाले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका छन् । रैनादेवी छहरा गाउँपालिकामा ११ जनाको उम्मेदवारी परेको छ । रामपुर नगरपालिकामा मंगोल नेश्नल अर्गानाइजेसनले नगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको छ । तानसेन नगरपालिकाका दुई वटा वडामा स्वतन्त्र उम्मेदवारले मनोनया दर्ता गरेका छन् । तानसेन नगरपालिका वडा नं. ५ र वडा नं. ९ को वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको हो । तानसेन ५ को वडा अध्यक्षका लागि धन बहादुर कार्की र वडा नं. ९ मदनपोखराका लागि विष्णुप्रसाद भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update