पाल्पा, दर्तावाला लेखापरीक्षकहरुको पेशागत छाता संगठन अडिटर्स एशोसिएशन अफ नेपाल (अडान) पाल्पाको जिल्ला अधिवेशन भएको छ । अडानको शुक्रबार एक कार्यक्रमका बिच छौठौं अधिवेशन भएको हो । अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको अध्यक्षमा सोमप्रसाद पौडेल पुनः चयन भएका छन् । जसको उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, सचिव हिरा आचार्य, सहसचिव हुमबहादुर केसी, कोषाध्यक्ष राधेश्याम ज्ञवाली रहेका छन् । अधिवेशनले सदस्यहरुमा तुलबहादुर थापा, गोपाल थापा, गोपाल आचार्य र लक्ष्मण कोइरालालाई सर्वसहमत रुपमा चयन गरेको छ । अधिवेशनले केन्द्रीय र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । आगामी जेठ १९ र २० गते हुने केन्द्रीय महाधिवेशनका लागि राधेश्याम ज्ञवाली र गोपाल आचार्यलाई चयन गरिएको अडानले जनाएको छ । त्यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा कृष्ण प्रसाद अधिकारी र कृष्ण पौडेललाई चयन गरेको छ ।
अडान लेखा परीक्षकको पेशागत सुरक्षाका लागि स्थापित संगठन हो । दर्तावाला (आर.ए) लेखापरीक्षकहरूको संगठन अडान पाल्पामा हाल २३ जना सदस्य रहेका छन् । लेखा तथा लेखापरीक्षण व्यवसायीलाई मर्यादित, समयानुकुल र विश्वसनिय बनाउन अडान पाल्पा सक्रिय रुपमा लागेको अडानका कोषाध्यक्ष राधेश्याम ज्ञवालीले बताए । मुलुकमा सुशासन, अनुशासन र समृद्धि कायम गर्न अडानले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । अडानले लेखापरीक्षण व्यवसायीलाई थप मर्यादित र प्रभावकारी बनाउँदै लैजाने समेत बताएको छ ।