
रामचन्द्र रायमाझी
पाल्पा,जिल्लाको तिनाउ गाउँपालिका २ दोभान स्थित दोभान माविमा अध्ययनरत विद्यार्थी दिक्षा केसी एसइई परीक्षा दिन भन्दै तानसेन आईन । चैत्र ६ गतेदेखि हुने यस वर्षको एसइई परीक्षा दिनको लागि अभिभावकले ऋणधन गरी चैत ३ गते नै तानसेन मोनिका होटलमा दिक्षालाई कोठा खोजि राखि दिए । उनको जनता नमूना मावि(जेभिटी) मा परीक्षा केन्द्र रहेको थियो । परीक्षाको राम्रो तयारी भएकाले उनको ए प्लस ल्याउने सपना थियो । तर, अन्तिम समयमा आएर एकाएक परीक्षा स्थगित हुँदा उनी निकै दुःखी छिन् । उनी भन्छिन् ‘होटेलमा खाना खानु पर्ने, होटेलमै बस्नु पर्ने, अनावश्यक खर्च भयो, अब फर्किने तयारीमा छु ।’
सरकारले एक हप्ता अघि नै परीक्षा स्थगित गरिदिएको भए पनि हुने थियो, यसरी अन्तिम समयमा आएर स्थगित गरिदाँ विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षा माथि नै विश्वसनियता नभएको केसी बताउँछिन् । उनी भन्छिन‘अन्त्यमा आएर गरिने निर्णयले आगामी दिनमा परीक्षा दिने भाईबहिनीहरुमा समेत विश्वसनियता भन्ने कुरा रहन्न ।’ परीक्षा अनिश्चितका लागि स्थगित भएकाले उनी विहिबार नै निरास हुँदै घर फर्किएकी छन् । तिनाउ २ कै गोविन्द बगालेको अवस्था पनि उस्तै छ । परीक्षा दिनका लागि उनी ५ गते नै तानसेन आइपुगे । उनले आफुलाई आवश्यक सम्पूर्ण किताव, कापी,लत्ता कपडा (झिलिझ्याम्टा) बोकेर तानसेनको एक होटलमा साथीसँगै कोठा लिएर बसे । विहिबार हुने परीक्षाको अन्तिम तयारीमा जुटेका उनी साझाँ सञ्चार माध्यमा परीक्षा स्थगित भएको समाचारले एकाएक उनलाई दुखी बनायो । जनतन छरछिमेबाट ऋण, सापटी गरी आएका उनमा परीक्षा छिट्टै हुने आशा छ । उनी भन्छन्‘घर फर्किने कि एसइईको नयाँ तालिका केही दिन कुर्ने भन्ने अलमलमा छु ।’ माथागढी गाउँपालिका–४ झडेवामा रहेको किसान माविकी छात्रा सृष्टी थापा पनि परीक्षामा सहभागी हुन बुधबार नै जिल्ला सदरमुकाम आईपुगिन् । उनी पनि साथीहरुसँगै एक होटलमा कोठा लिएर बसिन् । तानसेनकै जनता नमूना मावि केन्द्रबाट परीक्षा दिने तयारीमा रहेकी उनी एसईई स्थगित भएको खबर पाएपछि बिहीबार बिहान साथीहरुसँगै मलिन अनुहारमा घर फर्किइन् ।
कोरोना भाइरसको त्रासका कारण सरकारले अन्तिम समयमा एसइई परीक्षा स्थगित गर्दा हजारौं विद्यार्थीहरु समस्यामा परेका छन् । एसइई स्थगनले ग्रामीण क्षेत्रका परीक्षार्थीहरु बढी मारमा परेका हुन् । परीक्षा दिन भनेर लत्ताकपडा, खाना खर्चसहित केही पैसा जोहो गरेका उनीहरु बुधबार आ–आफ्ना परीक्षा केन्द्रमा पुगिसकेका थिए । परीक्षा स्थगित भएको कुरा विहिबार विहानसम्म सबै परीक्षार्थीमा त्यो खबर पुगिसकेको थिएन । जसले गर्दा स्थगनको खबर नपाएका केही परीक्षार्थीहरु विहिबार बिहान तानसेनका केही परीक्षा केन्द्रमा पुगेको देखिन्थ्यो । उनीहरु केन्द्रमा पुगेर केन्द्राध्यक्षले परीक्षा स्थगित भएको खबर सुनाएपछि मात्र घर फर्किएका थिए । परीक्षा दिनका लागि जिल्लाका गाउँ–गाउँबाट घण्टौं पैदाल हिँडेर विद्यार्थीहरु सदरमुकाम तानसेन आएका थिए । परीक्षा स्थगित भएपछि उनीहरु बिहीबार बिहान घर फर्किँएका छन् । जिल्लाका ५ हजार १८ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुँदै थिए । तर अन्तिममा परीक्षा स्थगित भएपछि उनीहरु निराश छन् । सरकारले दुई–तीन दिन अगाडि नै परीक्षा स्थगित गरिदिएको भए आफूहरुले दुःख नपाउने र खर्च पनि जोगिने जिल्लाका अधिकांश विद्यार्थी, अभिभावक र शिक्षकहरु बताउँछन् । देशको परिस्थितिलाई हेर्दा परीक्षा स्थगित गरिनु स्वाभाविक रहे पनि अन्तिम घडीमा आएर स्थगन गरिनुले विद्यार्थीमा निरासा छाएको नेपाल राष्ट्रिय शिक्षक संघ प्रदेश पाँचका अध्यक्ष विष्णु पोखरेलले बताए । सरकारले स्थगित गर्ने निर्णय गर्नु थियो भने दुई चार दिन अघि नै गरेको भए राम्रो हुने नेपाल शिक्षक महासंघ पाल्पाका अध्यक्ष देवी प्रसाद भट्टराई बताउँछन् । उनी भन्छन्,‘विद्यार्थीहरु सबै होटेलमा बसेका छन्, उनीहरुको अनावश्यक खर्च भयो, अब विद्यार्थीहरुको पढाई बिग्रिन्छ कि भन्ने चिन्ता छ ।’