Shittalpati
कोरोना विरुद्ध रामपुरमा सचेतनामुलक घर दैलो अभियान

इमान सिं राना

पाल्पा (रामपुर), पाल्पाको रामपुर नगरपालिका वडा नं. ६ ले नोवेल कोरोना भाईरस विरुद्ध सचेतनामुलक घर दैलो अभियान सुरुवात गरेको छ । विश्वभर महामारीको रुप लिएको नोवेल केरोना भाईरस कोभिड १९ को भित्रिन नदिनका लागि सरकारले विभिन्न प्रयासहरु गर्दै आएको सन्दर्भमा वडाले वडाबासीको आत्मबल बढाउनु र थप सावधानी तर्फ सचेत गराउन घरदैलो सुरु गरेको हो ।

वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम सेविका, दरैठाँटी मावि र नवदुर्गा माविका शिक्षक र कक्षा नौका विद्यार्थीहरुलाई कोरोना भाइरसका बारेमा जानकारी दिई सचेतना अभियान परिचालन गरिएको छ । रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले छिमेकी मुलुकमा पनि संक्रमण फैलिरहेको अवस्थामा हाम्रो मुलुक पनि जोखिममा रहेकाले आत्मबल बढाउन र थप सावधानी तर्फ सचेत गराउन घरदैलो अभियान सञ्चालन गरिएको बताए । उनले भने, ‘यतिबेला जताततै कुरा कोरोना कै छ । जसका कारण स्थानियहरु त्रसित अवस्थामा पनि छन् । यसको औषधी नभए पनि सावधानी अपनाउन सके बच्न सकिने हुनाले संयम अपनाउन र हत्तोत्साहित नहुन् भन्नको लागि घर दैलो सुरु गरिएको हो ।’अभियानमा खटिएका स्वयमसेवक टोलीलाई पर्चा र माक्स प्रदान गरिएको छ । उनीहरु वडाको १० वटा टोलका ८ सय ५६ घरपरिवार सम्म पुग्ने वडा सचिव बासुदेव ढकालले जानकारी दिए ।

उनले ५/७ जनाको १० समुह बनाई पर्चा, पम्पलेट तथा माक्स सहित घरघरमा टोली परिचालन गरिएको बताए । अभियानको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शुभारम्भ गरेका थिए । उनले बच्ने उपाय आफै सजग रहनु महत्वपूर्ण रहेको भन्दै नगरबासीलाई नआत्तिन आग्रह सहित आत्मविश्वास जगाएर अघि बढ्नु आवश्यक रहेको बताए ।

कोरोना भाईरसको उपचार भन्दा पनि संक्रमण हुन नदिने महत्वपूर्ण भएको भन्दै अन्य सचेतनाका कार्यक्रम संगै नगरले देशमा महामारी फैलिहालेमा नगरबसीलाई संक्रमण बाट जोगाउन प्रभावित क्षेत्र बाट आउने यात्रुहरुको स्वास्थ्य परिक्षण संगै उनीहरुलाई शिक्षा र स्वास्थ शाखाको समन्वयमा क्वारेन्टाईनमा राख्ने, रामपुर अस्पतालमा तत्काल ५ बेडको आईसोलेशनको व्यवस्था गर्ने, नगरपालिकाले १० हजार माक्स तयार गर्न लागेको बताए । घरदैलोमा खटिएका टोलीलाई रामपुर नगरपालिकाका स्वस्थ्य शाखा संयोजक तिर्थ प्रसाद ढुङ्गानाले भाइरस सर्ने कारण, देखिने लक्ष्यण, बच्ने उपाय, पूर्व तयारीका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update