
कृष्ण पोखरेल
पाल्पा, जिल्लामा अधिकाश होटल रेष्टुरामा पाखनवेद, चुत्रा, कोदो, चिउरी, कनिका लगायतका विभिन्न स्थानीय लेवलका घरेलु रक्सी विक्रि भईरहेको छ । ५२ प्रतिशत मगरी जनसंख्या ५ प्रतिशत नेवारी बस्ती रहेको पाल्पामा घरेलु रक्सीलाई सगुनको रुपमा लिने गर्दछन । जसका कारण अधिकाश मगर, नेवार देखी दलित बस्तीहरुमा परम्परादेखी नै मदिरा उत्पादन हुँदै आएको छ । जिल्लामा ७ महिनाको अवधिमा प्रहरीले २ हजार ७ सय ५२ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
चालु आर्थिक वर्षको माघसम्म मदिरा सेवनकै कारण १ सय ५० जना कारवाहीमा परेका छन् । मदिरा सेवन गरी अचेत अवस्थामा लडेर कयौ व्यक्तिले ज्यान गुमाएका छन् । रक्सी सेवन गरी सार्वजनिक अपराध गरेवापत ३३ जना व्यक्तिलाई जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाइएको छ । सयौँ यात्रुहरुलाई गन्तव्यमा पुर्याउने सरकारबाट लाईसेन्स लिएका ११ जना चालकहरु रक्सी सेवन गरेकै कारण जिल्ला प्रशासनमा तारिक धाउनु परेको छ । ७ महिनाको अवधिमा रक्सी सेवन गरी सार्वजनिक अपराध गरेका कारण प्रहरीले १ लाख १० हजार राजश्व संकलन गरेको छ । प्रहरी कार्यालयमा ७ महिनाको अवधिमा आएका घरेलु हिंसाका उजुरी मध्ये ७० प्रतिशत उजुरी मदिराकै कारण भएका हुन् । ७ महिनाको अवधिमा जिल्लामा मदिरा सेवनबाट देखिएका यि केही नमुना घटना मात्र हुन् ।
प्रहरी चौकी आर्यभञ्ज्याङले गएको श्रावण महिनामा गाउँबाट जिपभरी घरेलु रक्सी लोड गरी सदरमुकाम तानसेन ल्याउदै गर्दा पक्राउ गर्यो । करदाता सेवा कार्यालयले ४० हजार जरिवाना लिएर जिपलाई छाड्यो । परिवार पाल्नै पर्यो, छोरा–छोरी पढाउनै पर्यो दुई चार पैसा कमाउनै पर्यो, रहरले कसले यस्तो आगोमा डढेर रक्सी बनाउछ र ? पेट पाल्न काम गर्न पर्यो बाध्यताले रक्सी पार्ने काम गर्दै आएको तिनाउँ गाउँपालिका २ की खेममाया सुनारीले बताईन । सरकारले विकल्प दिएमा रक्सी बनाउने काम छोड्ने सुनारीले बताईन । जिल्लामा सुनारी जस्ता सयौ परिवारको रक्सी बनाउने पेशाबाटै जिविकोपार्जन हुँदै आएको छ । अधिकाश जनजाती तथा दलित समुदायमा घरेलु मदिरा उत्पादन हुँदै आएपनि सेवनमा भने बाहुन क्षेत्रीहरु अगाडि देखिएका छन् ।
घरेलु मदिरा नियन्त्रण तथा सचेतनामा प्रहरी बाहेक अन्य सरकारी निकायको प्रभावकारी अनुगमन भएको छैन । सदरमुकाम बाहेक अन्य क्षेत्रमा आज पनि खुलेआम रुपमा घरेलु मदिराको उत्पादन तथा बिक्री भईरहेको छ । तानसेन बजारभित्र समेत अवैध रुपमा घरेलु मदिराको उत्पादन तथा विक्रि अत्याधिक रहेको छ । तानसेनका चिया पसलदेखी मध्यम स्तरका होटलहरुमा घरेलु मदिरा विक्रि हुँदै आएको पाइन्छ । एक बर्ष अगाडि जिप जिपमा हालेर गाउँ–गाउँबाट रक्सी आउथ्यो प्रहरीको निगरानी सार्जजनिक यातायातमा बढेपछी अहिले विहानमा पैदल बाटोबाट घरेलु मदिरा आउने गरेको तानसेन १ की शशि श्रेष्ठले बताईन ।
तानसेनमा नायरनमतलेस, खानीछाप, चिलाङदी, चिरर्तुङ्गधारा, भैरवस्थान, रानीठाटी, तेल्घा, सराई जस्ता स्थानबाट विभिन्न किसिमका सवारी साधनमार्फत दैनिक रुपमा ५ सय लिटर भन्दा बढी घरेलु मदिरा भित्रिने गरेको छ । सिद्धार्थ राजमार्ग आसपासका बस्ती, मस्याम चर्चरे, कोल्डाडा, झुम्सा, कचल, दोभानबाट दैनिक रुपमा १ हजार लिटर बन्दा बढी घरेलु मदिरा वुटवलका चिया पसल देखी होटल रेष्टुरासम्म पुग्ने गरेको छ । यस क्षेत्रका सयौ व्यक्तिहरुको विहान वेलुका छाक टार्ने माध्यम नै मदिरा उत्पादन भएको छ । केन्द्रीय सरकारले देशभरी तथ्याड्ढ संकलन गरी उनीहरुलाई बैकल्पिक व्यवस्था गरी घरेलु मदिरा उत्पादनमा नियन्त्रण गर्नुपर्ने प्रदेश सांसद विरबहादुर रानाले बताए । विकल्प विना घरेलु मदिरा उत्पादन नियन्त्रण नहुने सांसद रानाको भनाई छ ।
जिल्ला भित्रका सबै प्रहरी युनिटहरु मार्फत अवधै मदिरा उत्पादन तथा बिक्रि नियन्त्रण तथा निगरानी गरेका छौ, तर प्रयाप्त जनशक्ति नहुँदा टोल टोलमा प्रहरी पुग्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपेन्द्र जिसीले बताए । तानसेनबाट वुटवल सडकमा चल्ने अधिकाश सवारी साधनमा घरेलु मदिराका ५ लिटर देखी २० लिटर सम्मका ग्यालेन भेटिने गरेका छन् । घरेलु मदिरा बनाउन महिलाहरु खटिने गरेका छन् तर मदिराकै कारण सबैभन्दा बढी महिला नै पिडित हुने गरेका छन् । घरेलु मदिरा खाएकै कारण अधिकांस महिला हिंसा, घरेलु झैझगडा, श्रीमान श्रीमती बीच कुटाकुटका घटनाहरु प्रहरी समक्ष आउने गरेका छन् ।
जाति अनुसारको रितिरिवाज परम्परा जोगाउन बर्षमा ३० लिटर रक्सी र ६० लिटर जाँड मात्र बनाउन पाउने तर सोको विवरण अन्तःशुल्क अधिकारीलाई दिनुपर्ने प्रावधान रहेको छ । पाल्पामा ४ सय ५८ प्रहरी दरवन्दी भएपनि हाल ३ सय १३ जना प्रहरी कार्यरत रहेका छन् । १ सय ४५ जना प्रहरी दरवन्दी कम रहेकाले भनेको समयमा गाउँ गाउँमा प्रहरीहरु परिचालन गर्न नसकिएको प्रहरी उपरीक्षक जिसीले बताए ।