
पाल्पा,बालमैत्री गाउँपालिका घोषणाको अन्तिम चरणमा रहेको जिल्लाको बगनासकाली गाउँपालिकाले घोषणा पश्चात् दीगोपनाको लागि पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । नेपालकै दोस्रो र प्रदेश पाँचमा पहिलो बालमैत्री घोषणाको अन्तिम तयारीमा रहेको गाउँपालिकाको रणनीतिक योजना तर्जुमा समितिले बाल बचाउ, संरक्षण, विकास, सहभागिता र संस्थागत सम्वन्धमा पाँच वर्षे रणनीति योजना तयार गरी गाउँपालिकामा बुझाएको हो । बालमैत्री गाउँसमितिका पदाधिकारी, कार्यपालिका सदस्य, पालिकास्तरी बालसञ्जालका पदाधिकारीहरु, पालिकास्तरी बाल संरक्षण तथा समन्वय समितिका पदाधिकारी, बालमैत्री सहयोग समिति र कर्मचारीहरुको सहभागितामा चार दिन सम्म सञ्चालन भएको गोष्ठीबाट व्यापक छलफल गरी रणनीतिक योजना तयार भएको हो । नेपाल सरकारले राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा गरेको प्रतिवद्धता अनुसार गाउँपालिकाले बालअधिकार सुनिश्चित गर्दै भविष्यमा समाज र राष्ट्रका लागि सक्षम नागरिक निर्माण गर्ने उद्धेश्य स्वरुप बालमैत्री कार्यक्रमका लागि दीर्घकालिन योजना बनाइएको बालमैत्री गाउँसमितिका संयोजक तथा गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । बालअधिकारका चार क्षेत्रहरु बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारलाई संस्थागत गर्नको लागि रणनीतिक योजना तयार गरिएको बालमैत्री स्थानीय शासन कार्यक्रमका फोकल पर्सन मनोज आचार्यले बताए ।
५ वर्षे रणनीति योजना बालमैत्री स्थानीय शासन समिति मार्पmत गाउँकार्यपालिकामा पेश भई छलफल, परिमार्जन सहित आगामी गाउँसभामा पेश गरिने फोकल पर्सन आचार्यले जानकारी दिए । २ गतेदेखि सञ्चालन भएको चार दिने गोष्ठी बुधबार सकिएको छ । दिगोपना र थप गुणस्तरीय बालमैत्री वातावरण निर्माणको लागि आफुहरु निरन्तर लाग्ने बालमैत्री गाउँ समितिका उपाध्यक्ष सरस्वती चिदीले बताईन । बालमैत्री स्थानीय शासनका लागि कार्यविधिमा उल्लेख भएका ३९ सूचक र १६ खुड्किलामा टेकेर गाउँपालिकाले बालबालिकाको क्षेत्रमा विशेष लगानी गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत एवं बालमैत्री गाउँ समितिका सदस्य सचिव सुन्दर प्रसाद श्रेष्ठले बताए । यस अघि गाउँपालिका भित्रका ३० वटा सामुदायिक र ७ वटा निजी गरी ३७ विद्यालय न्यूनतम सूचकहरु पुरा गरी बालमैत्री विद्यालय घोषणा भएका छन् । गाउँपालिकाले पूर्ण सस्थांगत सुत्केरी गाउँपालिका, भर्ना सुनिश्चित, खुल्ला दिशामुक्त, पूर्ण साक्षर गाउँपालिका हँुदै सरसफाई उन्मुख वडाहरु घोषणा गरिसकेको छ । बालमैत्री अभियानमा वास परियोजना, सुआहारा कार्यक्रम, सामाजिक स्रोत विकास केन्द्र, नेपाल, इन्सेक परियोजना, महिला सहकारी संस्थाहरु, पछौटेपन उन्मुलन समाज नेपाल,पाल्पा सि.वि.आर., ईन्दे्रणी समाज केन्द्र नेपाल जस्ता संघ सस्थाहरु पनि क्रियाशिल रहेका छन् । गोष्ठीमा बालमैत्री राष्ट्रिय अभियानाका प्रशिक्षक शर्मिला पौड्याल र गाउँपालिकाका बालमैत्री शासनका फोकल पर्सन मनोज आचार्यले प्रशिक्षण दिएका थिए ।