Shittalpati
बेरोजगारीको डर लाग्दो दृश्य

स्थानीय तहको निर्वाचनका लागि चैत ६ गतेदेखि म्यादी प्रहरीको भर्ना सुरु भएको छ । देशभरका जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्ना हुन युवा पुस्ताको लर्को छ । डेढ महिने रोजगारीका लागि आवेदन दिन सयौं युवा चर्को घाममा लामबद्ध देखिन्छन् । म्यादी प्रहरीका लागि लामबद्ध यी युवाहरुको भीडले देशभर बेरोजगारी युवाको अवस्था कस्तो छ भनेर प्रष्ट पारेको छ । सयौं युवा स्थानीय तहको निर्वाचनका लागि खुलेको म्यादी प्रहरीको आवेदनको लाइनमा छन् । ४० दिनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना खुल्ला गरेको छ । निर्वाचनका बेला म्यादी प्रहरीको सान पनि कम हुदैन ? त्यही भएर आवेदन दिने पनि छन् । तर देशलाई परेको बेला सहयोग गर्ने मनशायले म्यादी प्रहरी बन्नेहरु पनि छन् । डेढ महिना नै भएपनि रोजगारी पाइने भएकाले बाध्यताले म्यादी प्रहरी बन्न आवेदन दिइरहेकाहरु धेरै छन् । म्यादी प्रहरीमा भर्ना हुन आएकाहरु स्नाकोत्तर उर्तीण गरेकादेखि विभिन्न सीपमुलक तालिम लिएकासम्म छन् । यसले मुलुकमा बेरोजगारीको डरलाग्दो दृश्य पनि देखाइरहेको छ ।

सामान्य तथा प्रहरी तथा सैनिक सेवाबाट निवृत्त व्यक्तिहरू भर्ना हुन् भन्ने चाहना सरकारको हुन्छ । त्यसो भएका खण्डमा तिनलाई तालिम दिइरहनु पर्दैन र सुरक्षा दिनका लागि ती कुशल हुन्छन् भन्ने हो । तर, सेवा निवृत्त सुरक्षाकर्मीहरू सामान्यतया बेरोजगार बस्दैनन् । उनीहरू कतै न कतै सेक्युरिटी सम्बन्धी निकायहरूसँग सम्बद्ध भएर काम गरिरहेका हुन्छन् । तिनलाई लक्ष्य गरी सरकारले म्यादी प्रहरीमा भर्ना हुनेको उमेर ५४ वर्षसम्मको राखेको हो तर त्यस्ता व्यक्तिहरूको दरखास्त कमै मात्र परेको छ । नियमित रूपमा खाइरहेको जागिर छोडेर ४० दिनको जागिरका लागि तिनीहरू म्यादीमा भर्ना हुँदैनन् । यसबाहेक म्यादीमा भर्ना हुन आएकाहरू नितान्त बेरोगारहरू मात्रै हुन् भनेर बुझ्नुपर्ने हुन्छ । देशभरी यसरी म्यादीका लागि परेको दरखास्तबाट बेरोगारीको समस्याको चित्र थाहा पाउन सकिन्छ । म्यादी प्रहरीमा भर्ना हुनका लागि दरखास्त फाराम बुझाउन आएकाहरूमा युवाहरू त हुने नै भए यसका साथै वयस्कहरूको संख्या पनि उल्लेख्य पाइएको हुँदा यस उमेरसम्म पनि जागिर खान नसकेर बेरोजगार बस्नेहरूको संख्या धेरै रहेछ भन्ने देखिन्छ । म्यादी भर्ना त एक प्रतिनिधि मात्र हो । यहाँ हरेक क्षेत्रमा बेरोजगारीहरुको संख्या देख्न सकिन्छ । लोकसेवा, शिक्षक सेवा, वित्तिय लगायतका क्षेत्रमा समेत आवेदन दिने युवायुवतीहरुको संख्या बाक्लै देख्न सकिन्छ । यस्तो अवस्था रही रहे देशमा बेरोजगारको अवस्था झन डर लाग्दो हुन सक्छ । तसर्थ सरकारले बेरोजगार युवाहरुका लागि रोजगारी सिर्जना गर्ने दिशामा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update