Shittalpati
रङ्गीन पर्व होलीको शुभकामना !

प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाका दिन होली पर्व मनाइन्छ । नेपाल, भारत र अन्य राष्ट्रका पनि हिन्दू तथा गैरहिन्दूहरूका लागि होली महत्वपूर्ण पर्व हो । होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिनमा मनाइने प्रमुख चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक–अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर रङ्गीन बनाउँछन् । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपू) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैं आगोमा भष्म भएकी थिइन् र विष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरु भएको मानिन्छ । वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रंगहरूबीचको सम्बन्ध अनि रंगले पार्ने उत्साहजनक प्रभाव पार्छ भन्ने मान्यता राखिन्छ । होलीका दिन मानिसहरूले एक–अर्कामाथि विभिन्न प्रकारका रंगहरू हालेर एक–अर्कालाई रंगीन बनाउँछन् ।

होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रंग घोलेर एक–अर्कामाथि फाल्ने चलन छ । साना साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवायुवतीहरू गीत गाउँदै–नाच्दै होली खेल्छन् । होली हिन्दूहरूको दोस्रो महान् चाड हो । यो पर्वलाई असत्यमाथि सत्यको विजयका रूपमा लिइन्छ । यो पर्वले राग, रंग, द्वेष, क्रोध, ईष्या, त्याग गरेर साथी होस् वा दुस्मन, सबैसँग समान रूपमा प्रेमको साथ बस्न सिकाउँछ । यसैकारण यस पर्वमा सबैसँग रंग, अबिर खेलेर हाँसीखुसीसाथ बाँच्ने शिक्षा पनि यो चाडले दिन्छ । होली पर्व आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमंगका साथ मनाइने रंगीन पर्वका रूपमा लिइन्छ । तर वर्तमान समयमा होलीले विभिन्न खालका विकृति–विसङ्गतिहरू पनि नभित्र्याएको पनि कहाँ हो र ? होलीमा युवाहरू इच्छाविपरीत रङ दलिदिने, हिलो लगाइदिने, युवाहरू रक्सी, गाँजा, भाङ, खाएर मात्तिनेजस्ता काम गर्छन्, जसलाई राम्रो मान्न सकिँदैन । होलीलाई एक आपसमा सद्भापूर्ण रुपमा मनाउनुपर्छ । यसो हुनसके मात्र होली पर्वको सार्थकता रहनसक्छ । तसर्थ एक आपसमा सद्भाव, माया र उमङ्गका साथ होली पर्व मनाउन सकियोस् होलीको सबैमा शुभकामना !

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update