Shittalpati
रोकौं सडक दुर्घटना

 

सवारी दुर्घटनामा देखिएको बढोत्तरीले एक प्रकारको त्रासदी नै उत्पन्न गराएको छ । सडकयात्रा गर्नुअघि सकुशल गन्तव्यमा पुग्न पाइन्छ कि पाइन्न भन्ने सवाल हरेक यात्रीको मनमा पैदा हुने र ईश्वर पुकारेर हिँड्नुपर्ने परिस्थितिको सिर्जनाले सर्वसाधारणदेखि राज्यका सरोकारवाला निकायसम्मलाई झकझक्याएको छ । प्रत्येक वर्षको सडक दुर्घटनाको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा सवारी दुर्घटना भयाभह रहेको देखिन्छ । दुर्घटनालाई शून्य पार्न नसके पनि न्यूनीकरण गर्न भने सकिन्छ । तर सरकार भने त्यसतर्फ गम्भीर बनेको देखिदैन । नेपालमा विशेषतः सडकको कमजोर संरचना, प्रयोगकर्तामा पर्याप्त सावधानीको अभाव, पुरानो सवारी साधन लगायतका कारणले बढी दुर्घटना निम्तिने गरेका छन् । पुराना सवारीको प्रयोग, समयमा मर्मत र परीक्षण नगरी कमाउने लोभमा मात्र सवारीसाधन सञ्चालन गर्दा सवारी अनियन्त्रित भई दुर्घटना हुन्छन् । दक्ष सवारी चालक नहुँदा र ट्राफिक नियम पालना नगर्नु पनि दुर्घटनाको अर्को कारण हो । सडक दुर्घटना न्यून गर्न चालकको ठूलो हात हुन्छ । सबै दुर्घटनामा चालक मात्रै दोषी हुन्छन् भन्ने पनि छैन । कहिलेकाहीं सडक प्रयोगकर्ताको कमजोरीका कारण पनि यस्ता दुर्घटना निम्तिन सक्छन् । तर, व्यक्तिको निधन नै भइसकेपछि चालक वा सवारी धनीलाई चोख्याउने काम कुनै पनि हालतमा गर्नु हुँदैन । सबै प्रकारका दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्छ । यसो गरेमा चालक अझ बढी जिम्मेवार बन्छन् । दुर्घटना पूर्ण रोकथाम त गर्न सकिन्न तर न्यूनीकरण गर्नेतर्फ छलफल हुनुपर्छ । तसर्थ यसो गर्न सके मात्र सडक दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update