पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिनभित्र आवेदन गर्न आÞवान गरेको छ । लामो समयदेखि थाँती रहेको अव्यवस्थित बसोबासीको समस्या यथाशक्य चाँडो समाधान गर्न गाउँ सरकारले आवेदन आह्वान गरेको हो ।
गाउँ सरकारले एक सूचना जारी गर्दै स्थानीय तहमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई सम्बन्धित वडा कार्यालयबाट निवेदन दिन आग्रह गरेको छ । ‘नेपाल सरकार, राष्ट्रिय भूमि आयोग बिच २०७८ फागुन १२ गते यस गाउँपालिका अन्तर्गत रहेका भूमिहिन, दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि जग्गा वितरण गराउने भनि कार्य सहमतिपत्रमा हस्ताक्षर भए बमोजिम भूमिहिन, दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासी संकलन छुट हुन गएको लगत संकलन गर्नुपर्ने भएकाले सम्बन्धित सरोकारवालाले २१ दिन भित्र सम्बन्धित वडा कार्यालयमा गई देहायका कागजात पेश गरी फाराम भर्नुहुन सूचित गरिन्छ’ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञवालीद्वारा जारी सूचनामा उल्लेख छ । आवेदन दिंदा नागरिकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, अन्यत्र जग्गा भएको भए सोको जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित व्यक्तिको हस्तलिखित निवेदन पेश गर्नुपर्ने हुन्छ ।
जग्गा विहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि गाउँपालिकाले यस अघि भूमि सम्बन्धी समस्या समाधान आयोगसँग समझदारी गरेको थियो । आयोगका अध्यक्ष केशव निरौला र गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । समझदारीसँगै गाउँपालिकाले आवेदन आह्वान गरेको हो । गाउँपालिकामा पनि धेरै नागरिक अव्यवस्थित र भूमिहिन अवस्थामा रहेको गाउँपालिका अध्यक्ष थापाले बताए । उनले गत वर्ष केही वडाहरुमा लगत संकलन गर्ने काम गरे पनि अयोगको अनिश्चितताका कारण काम बिचैमा रोक्नु परेको बताए । उनले भने ‘हामीले आवेदन आÞवान गरेका छौं, छिटो भन्दा छिटो काम अगाडि बढाई भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समधान गछौं ।’