Shittalpati
माथागढीमा सार्वजनिक सुनुवाई : खानी प्रभावितका नागरिक भन्छन् ‘हामीले सुरक्षा पाएनौं’

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकामा सञ्चालित खानी उद्योगहरुबाट असुरक्षित भएको स्थानीयहरुले बताएका छन् । बुधबार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक कार्यक्रममा खानी प्रभावित नागरिकहरुले कोइलाखानी तथा चुनढुङ्गाखानीहरुका कारण आफुहरु असुरक्षित रहेको बताएका हुन् । उनीहरुले चुनढुङ्गा खानीहरुले जथाभावी रुपमा ढुङ्गा, माटो फाल्दा स्कूल जाने बालबालिका र घाँस काट्न जानेहरु असुरक्षित हुने गरेको बताएका छन् ।

खानी प्रभावित माथागढी रहवासका मुन प्रकाश रानाले पाल्पा सिमेन्ट उद्योगले वातावरणतर्फ ध्यान नदिएको बताए । उनले उद्योगले जथाभावी रुपमा ढुङ्गा फाल्दा स्कूल जाने बालबालिकाहरु असुरक्षित हुने गरेको बताए । माथिबाट ढुङ्गा खदा खानी वरपर त्रास हुने गरेको उनको भनाई छ । खानीका कारण पानीको मुहानमा समेत असर पुगेको स्थानीय राम बहादुर थापाले बताए । खानीले जहाँ पायो त्यही ढुङ्गा र माटो फालिदिदा खरबारी मासिएको अर्को स्थानीय पूर्णबहादुर ढेंगा बताउँछन् । उनी भन्छन् ‘घाँस काटेर पशुपालन गर्न समस्या भएको छ ।’ कार्यक्रममा पत्रकारहरुले समेत खानीको लापरवाहीका कारण स्थानीयले सास्ती खेप्नु परेको बताए । उनीहरुले खानी उद्योगहरुले कागजमा एउटा काम गर्ने तर कार्यन्वयन नगर्दा स्थानीयले समस्या भोग्नु परेको बताए । उनीहरुले खानी प्रभावित क्षेत्रका नागरिकहरुलाई थाहा नदिई काम गर्दा समस्या उत्पन्न हुने गरेको बताए । उनीहरुले खानी सञ्चालकहरुले स्थानीयहरुसँग सिधैं जग्गा खरिद नगरेर विचौलियासँग किन्दा समस्या उत्पन्न हुने गरेको भन्दै त्यसो नगर्न खानी सञ्चालकहरुलाई आग्रह गरे । कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याल, पत्रकार महासंघका जिल्ला सचिव यज्ञमुर्ति तिमिल्सीना, रेडियो कुटुम्बका स्टेसन म्यानेजर नारायण न्यौपाने, सनराइज टेलिभिजनका प्रवन्धक सन्तोष बस्याल लगायतले स्थानीयको समस्या प्रति ध्यान दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले स्थानीय सरकारले खानीको अनुगमन गरेर समस्याको समधानतर्फ ध्यान दिन आग्रह गरे । नेकपा एमालेका माथागढी इञ्चार्ज सन्तोष भट्टराईले नेतृत्व तहको वेवास्तका कारण खानी क्षेत्रका जनताले सास्ती खेप्नुपरेको धारणा राखे । ५ का वडा अध्यक्ष बेलबहादुर ढेंगाले धूलो नियन्त्रण र बर्खाको समयमा सडक मर्मत गर्ने विषयमा ध्यान दिन खानी सञ्चालकलाई आगह गरे ।

कार्यक्रममा चिउरीका सिद्धबाबा मिनरल्सका प्रतिनिधि सरोज खरेल, खान सञ्चालक प्रेम श्रेष्ठ, सत्य मिनरल्स पालिका पतिनिधि श्रीकृष्ण पोखरेल, सुर्वण महर्जन, महालक्ष्मी कोल्ड पालिका युवराज नेपाल, विएस सिमेन्ट उद्योगका सञ्चालक बाबुराम पाण्डे, पाल्पा सिमेन्ट इन्डेष्टिकका प्रवन्धक जीवन निरौला लगायतले आफुहरुले स्थानीयहरुको माग अनुसार नै काम गरेको दावी गरे । उनीहरुले स्थानीयहरुको केही समस्या भएको आफुहरुले ध्यान दिने बताए । खानीका कारण स्थानीयमा कुनै पनि समस्या नभएको बरु केही व्यक्तिहरुको स्वार्थका कारण स्थानीयमा भ्रम फैलाइएको उनीहरुको आरोप छ । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले खानी सञ्चालनका कारण थुपै समस्या रहेको भन्ने कुरा आएकाले जनतासँग सार्वजनिक कार्यक्रम आयोजना गरिएको बताए । उनले स्थानीय सरकारले खानीको संरक्षण गर्ने र त्यसको उत्खनन् संघीय सरकारले गर्ने अधिकार दिइएकाले स्थानीय सरकारलाई गाह्रो भएको बताए । खानीको संरक्षणको अधिकार स्थानीय सरकारलाई रहेकाले खानी प्रभावित क्षेत्रका जनताको समस्यापति स्थानीय सरकार प्रतिवद्ध भएको बताए । गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराई स्थानीय र खानीसँगको सम्बन्ध सुमधुर हुनुपर्ने बताइन् । स्वास्थ्य शाखा प्रमुख केशव जिसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update