पाल्पा, अवैध लागूऔषधसहित प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट लागूऔषध ओसारपसारमा संलग्नहरूलाई प्रक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय अनुसार तानसेन नगरपालिका–७ बाँसटारीस्थित सिद्धार्थ राजमार्गबाट दुई जना र रिब्दीकोट गाउँपालिका वडा २ दमक र ३ डुम्रीका स्थित हार्थोक–सर्देवा कच्ची सडक खण्डबाट दुई जनालाई अवैध लागूऔषधसहित पक्राउ गरिएको छ ।
मंगलबार बेलुकी ध २ प ३६९४ नम्वरको मोटरसाइकलमा लागूऔषधसहित बुटवल जान लागेका दुई जनालाई प्रभास प्रहरी चौकीको टोलीले चेक जाँच गर्ने क्रममा बाँसटारीस्थित सिद्धार्थ राजमार्गबाट पक्राउ गरेको हो । प्रहरीले बाग्लुङ ताराखोला गाउँपालिका–१ का २१ वर्षीय नितेश घर्ती मगर र बाग्लुङ काठेखोला गाउँपालिका–५, का २० वर्षीय मोहन श्रीसलाई लागूऔषध सहित पक्राउ गरेको छ । उनीहरूको साथमा नुफ्रिन ३ एम्पुल, डाइजेपाम २ एम्पुल, प्रोमथजन ३ एम्पुल, प्रयोग गरेको डाइजेपाम १ थान र सिरिञ्ज २ थान फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले जानकारी दिए । यस्तै हार्थोक प्रहरी चौकीले तानसेन हुँदै सर्देवातर्फ जाँदै गरेको ध १ प १०४९ नम्बरको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाग्लुङ नगरपालिका–३, का २१ वर्षीय सौरव पुनलाई अवधै लागूऔषध सहित पक्राउ गरेको हो । पुनको साथबाट डाइजेपाम २२, नुफ्रिन २०, प्रोमथजन २२ गरी ६४ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरी हार्थोक प्रहरी चौकीले नै तानसेन हुँदै दमकतर्फ जाँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाग्लुङ नगरपालिका–८, घर भई बाग्लुङ नगरपालिका २, हल्लनचोकमा डेरामा बस्ने २३ वर्षीय संजय नेपालीलाई अवधै लागूऔषध सहित पक्राउ गरेको हो । नेपालीको साथबाट डाइजेपाम २७, नुफ्रिन २०, प्रोमथजन २६, नोफिन २७ गरी ८० एम्पुल फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।