रामचन्द्र रायमाझी
पाल्पा, अवैधरुपमा जिल्लाका विभिन्न नदी र खोलाबाट नदीजन्य वस्तुको व्यापक उत्खनन् र चोरी निकासी हुने गरेको छ । कालीगण्डकी नदी र रामपुर आसपास खोलाहरुबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा गिट्टी–बालुवा चोरी निकासी हुँदै आएको पाइन्छ । राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै र स्याङ्जातर्फ निकासी हुँदै आएको स्थानीय बताउँछन् । पछिल्ला महिना निस्दी खोलाबाट अवैधरूपमा बालुवा चोरीको घटना बढिरहेको पाइएको छ । नदी र खोलाबाट ढुङ्गा–बालुवाको अवैध उत्खनन् गर्न नपाइने कानुनको खिल्ली उडाउँदै यहाँका दर्जनौं खोला नदीबाट अवैध रुपमा उत्खनन् भइरहँदा समेत सम्बन्धित निकायले रोक्न कुनै पहल गरेको छैन ।
जिल्लाको रामपुर, निस्दी, तिनाउ लगायतका स्थानीय तहका खोलाहरुबाट अवैध रुपमा गिट्टी–बालुवा चोरी निकासी हुँदै आएको छ । तर सम्बन्धित निकायबाट यसको निगरानी हुन नसक्दा चोरी निकासी रोकिन सकेको छैन । अवैधरूपमा नदी तथा खोला किनारबाट बालुवा निकालेर निकासी गर्दा प्राकृतिक हिसाबले जोखिम हुन्छ । पछिल्लो समय रामपुर आसपासका क्षेत्रबाट प्रहरीको आँखा छलेर अवैध रुपमा ढुङ्गा–बालुवा चोरी गर्ने ट्याक्टरहरु धमाधम प्रहरीको फन्दामा पर्न थालेका छन् । पछिल्लो एक हप्ताको अवधिमा प्रहरीले पाँच वटा ट्याक्टरलाई अवैधरूपमा निकालिएको बालुवासहित नियन्त्रणमा लिएको छ । गत बिहीबार प्रहरी चौकी केलादीले ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । त्यहाँबाट खटिएको प्रहरी गोष्ठीले मापदण्ड विपरीत अवैधानिक रुपमा गिट्टी, बालुवा निकालिरहेको अवस्थामा लु ४ त ८०६७, लु ३ त ४०४२, लु ३ त ६२६० र लु ३ त ९२३२ नम्बरको ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको थियो । ति ट्याक्टरले रामपुर–२, स्थित निस्दी खोलाबाट अवैध रूपमा स्वीकृत नलिई बालुवा निकासी गर्दै आएका थिए ।
त्यस्तै प्रहरीले शनिबार रामपुर–३, निस्दी खोलास्थित रजघर–खयरबोट जोड्ने पुल नजिकै लु ४ त २७९६ नम्वरको ट्याक्टरलाई गिट्टी, बालुवा निकालिरहेकै अवस्थामा नियन्त्रणमा लिएको छ । खोला उत्खनन् गर्दै प्रहरीको आँखा छलेर गिट्टी–बालुवा चोरी निकासी गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए । अवैध नदी उत्खनन्मा रोक लगाइए पनि जिल्लाका अधिकांश ट्याक्टर व्यावसायीहरुले विहान बेलुकाको समय पारेर चोरी निकासी गरिनै रहेपछि प्रहरीको विशेष निगरानीमा पक्राउ गरिएको हो । नियन्त्रणमा लिएका ट्याक्टरलाई आवश्यक कारवाहीका लागि प्रहरीले रामपुर नगर सरकारलाई जिम्मा लगाएको थियो । जिम्मा लगाइएका ४ वटा ट्याक्टरले राजश्व तिरेपछि छाडिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । शनिबार नियन्त्रणमा लिएको ट्याक्टरले भने राजश्व नतिरेको बुझिएको छ । प्रहरीले अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी गर्ने ट्याक्टर लगायतका सवारी साधनहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्ने गरेपनि त्यस्तो क्रम भने रोकिएको छैन ।