पछिल्ला केही दिन यता रुस र युक्रेनबीच युद्व चलिरहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेका खबरहरु अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आएका छन् । विश्वमा हुने जुनसुकै घटनाले नेपालमा सिधा प्रभाव पार्ने गर्दछ । विश्वका धेरै मुलुकसँग नेपालको व्यापार साझेदारी भएका कारण पनि विश्वमा हुने घटनाले नेपालमा प्रत्यक्ष प्रभाव पर्ने गरेको हुन्छ । अहिले रसियाले युक्रेनमा आक्रमण गरेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको छ । नेपालजस्ता साना र गरिव मुलुकहरु अहिले महँगीको मारमा पर्न थालेका छन् ।
अन्तर्राष्ट्रिय रुपमा तेलको मूल्य बढेको छ भने अन्य दैनिक खाद्यान्नका सामानको मूल्य पनि अकासिएको छ । अभावसमेत सिर्जना हुन थालेको छ । रुसको आक्रमणपछि तनावग्रस्त बनेको युक्रेनबाट कच्चापदार्थ आउन बन्द हुने भएका कारण नेपालका तेल उत्पादन गर्ने उद्योगहरू प्रभावित हुने भएका छन् । किनकि नेपालमा उत्पादन हुने खाने तेलका लागि आवश्यक ९० प्रतिशत तोरी र सूर्यमुखीको दाना युक्रेनबाट आयात हुने गरेको छ । सूर्यमुखी र तोरीको दाना युक्रेनबाट आयात गरी नेपालका तेल उद्योगले प्रयोग गर्छन् । रसिया–युक्रेन युद्धका कारण पछिल्लो एक महिनायता भने नेपालमा तोरी र सनफ्लावरको दाना आयात हुन सकेको छैन ।
दुई देशबीचको तनावले नेपालका तेल उत्पादकहरू थप तनावमा छन् । जसका कारण पछिल्लो वर्षदेखि नेपाली बजारमा महँगिदै गएको खाने तेलमा फेरि मूल्य बढ्ने देखिन्छ । साथै, रुस र युक्रेनबीच सुरु भएको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै नेपालमा समेत त्यसको प्रत्यक्ष असर परेको छ । यहाँ पेट्रोल, डिजेल र खाने तेलको मूल्य बढी सकेको छ । यस अघि नै कोरोनाका कारण मूल्यवृद्धिको मारमा परेका नेपाली उपभोक्तालाई झन् ठूलो समस्या पर्ने देखिन्छ । युद्वले केवल विनास मात्रै गर्ने भएकाले अहिले रसिया र युक्रेनबिचको युद्व रोक्ने बाटोमा सबैले ध्यान दिनु अहिले आवश्यकता हो । तर मुलुकलाई शान्ति प्रक्रियामा ल्याएर युद्ध रोक्ने बाटोमा लाग्नुपर्नेमा त्यसो हुनसकेको देखिंदैन । युक्रेनमाथिको आक्रमण निन्दनीय छ, तर रसियालाई गाली गरेर मात्र निकास निस्कन्न । कुनै पनि मुलुकको सार्वभौमिकता माथि धावा बोल्ने अधिकार कुनै मुलुकसँग छैन तर छिमेकी मुलुकले पनि आफ्नो छिमेकीको चाहना बारे ध्यान दिन जरुरी हुन्छ ।