Shittalpati
रुस र युक्रेन युद्वको असर नेपाली भान्सासम्म

रामचन्द्र रायमाझी
पाल्पा, तानसेन भगवती टोलमा बस्दै आएकी निर्मला पुनले ५ महिनालाई पुग्ने खाने तेल एकैचोटी किनेकी छन् । उनले तेलको भाउ बढेर आउने हल्लाले अहिले नै पाँच महिनालाई पुग्ने जति तेलको जोहो गरेकी हुन् । भगवती टोलकै अर्की राधादेवी रायमाझीले पनि ग्यासको मूल्य बढेर आउने हल्लाले एकै पटक दुई वटा सिलिण्डर भरेकी छन् । उनले ग्यासको सिलिण्डर मात्र होइन खाने तेलसमेत २/४ महिनालाई हुने गरी नै जोहो गरेकी छन् । रायमाझीले भनिन् ‘रुस र युक्रेनबीच लडाई भइरहेकाले नेपालमा महँगी बढ्न सक्ने हल्ला छ त्यहि भएर अहिले नै खाने तेल र ग्यासको जोहो गरेकी हुँ ।’ पुन र रायमाझीले मात्र होइन अहिले अधिकांस उपभोक्ताहरु बजारमा महँगी बढ्न सक्ने भएकाले खाद्यान्नको जोहो गर्न थालेका छन् । रुस र युक्रेनबीच निरन्तर रुपमा बढेको द्धन्दको असर अहिले नेपाली भान्सामा देखिन थालेको छ । उक्त युद्धको असर विशेष गरी तेल, इन्धन लगायत खाद्य सामग्रीको मूल्यमा देखिन थालेको हो ।

नेपालका उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ सोयाविन तेल, सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत युक्रेन लगायत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलियाबाट आयात हुने गर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने हुँदा बजारमा खाने तेल लगायत अन्य खाद्य सामग्रीको मूल्य बढ्न थालेको नेपाल चामल, तेल, दाल उत्पादक संघले जनाएको छ । संघका अनुसार खाद्यान्नको मूल्य बढीरहेको छ । अन्तर्राष्ट्रिय बजारमा नै निर्भर हुनुपर्ने भएकाले नेपालमा पनि महंगी बढ्न थालेको उसको भनाई छ । उपभोक्ताले महंगी बढ्छ भनेर नै अहिले खाद्यान्नको जोहो गर्न थालेका हुन् । विश्वका धेरै मुलुकसँग नेपालको व्यापार साझेदारी भएका कारण पनि विश्वमा हुने घटनाले नेपालमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । हालै रुस र युक्रेनबिच द्धन्द भएपछि त्यसको बाछिटा नेपालमा पर्न थालेको हो । जसका कारण नेपालका खाने तेल उद्योगदेखि इन्धन व्यापारसम्म प्रभावित हुन थालेका छन् । किनकि नेपालमा उत्पादन हुने खाने तेलका लागि आवश्यक ९० प्रतिशत तोरी र सूर्यमुखीको दाना युक्रेनबाट आयात हुने गरेको छ । सूर्यमुखी र तोरीको दाना युक्रेनबाट आयात गरी नेपालका तेल उद्योगले प्रयोग गर्छन् । रुसा–युक्रेन युद्धका कारण पछिल्लो एक महिनायता भने नेपालमा तोरी र सनफ्लावरको दाना आयात हुन सकेको छैन । दुई देशबीचको तनावले नेपालका तेल उत्पादकहरू थप तनावमा छन् । जसका कारण पछिल्लो वर्षदेखि नेपाली बजारमा महँगिदै गएको खाने तेलमा फेरि मूल्य बढ्ने देखिन्छ । रुस र युक्रेनबीच सुरु भएको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य समेत बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा परेको हो । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउन लागेको छ । रुस र युक्रेनबीच भएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिव्यारेल ९५ देखि १ सय ५ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि त्यसको असर स्थानीय बजारमा पर्छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update